दुई दिनभित्र जमात समूहको तथ्याङ्क बुझाउन मुस्लिम आयोगको निर्देशन

राष्ट्रिय मुस्लिम आयोगको आज बसेको बैठकले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिइएको छ। आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा जमात समूह भएमा दुई दिनभित्र सम्पूर्ण तथ्याङ्क बुझाउन जमात समूहका अगुवालाई निर्देशन दिएको हो । 

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् । 

बैठकले देशभरका मस्जिद र मदरसाहरुको अनुगमन तथा लडकाउन पूर्ण पालना गराउन सरकारलाई सघाउन अध्यक्ष अन्सारीकै संयोजकत्वमा सात सदस्यीय केन्द्रीय समन्वय समितिसमेत गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन, सांसद शेख चाँदतारा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सत्तार र धर्म गुरुहरु खुर्शिद इस्लाही (ओलमा) र खालिद सिद्धिकी (ओलमा)  छन्।

समिति जिल्लामा पनि बनाउने र जिल्ला प्रशासन तथा प्रहरीसँग मिलेर लकडाउन पालना गर्न मस्जिद तथा मदरसाहरुमा पुग्नेछ । मुस्लिम समुदायकोे महान् पर्व रमजान चार÷पाँच दिनपछि नै आउन लागेकाले त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भीडभाड हुन नदिनका लागि आयोगले अपिल गरेको छ । 

प्रकाशित मिति: : 2020-04-19 23:22:57

प्रतिकृया दिनुहोस्