कोरोना भाइरस संक्रमणबाट बच्न विज्ञहरुका दुई वटा सुझाव छन्, सरसफाईका साथै घरभित्रबाट बाहिर ननिस्कने, सामाजिक दुरी कायम गर्ने। विश्वभरी महामारीको रुपमा फैदिएको कोरोना भाइरस (कोभिड–१९) कारण संसारभर ‘लकडाउन’ छ । नेपालमा समेत नागरिकहरू अधिकांश समय घरभित्रै बिताइरहेका छन्। तर यहाँको कोहलपुर नगरपालिकाका विभिन्न टोल तथा गाउँगाउँमा कोरोना भाइरसबाट जोगिनको लागि भिन्न शैली अपनाइएको छ।
कोरोनाबाट बच्न र संक्रमण रोक्न यहाँका नागरिकहरुले भिन्न खालको अभ्यास गरिरहेका हुन् । १५ वटा वडा रहेको कोहलपुरका विभिन्न वडाका स्थानीयको अगुवाईमा गाउँ प्रवेश निषेधदेखि जरूरी काम नभई घर भित्र समेत नपस्न सूचना नै टाँस गर्नेदेखि अस्पताल क्षेत्रमा समेत काँडेतारको बार नै लगाइएको छ। कोहलपुर नगरपालिका,२ बर्दहवामा नयाँ मान्छेलाई छिर्न नदिनको लागि विभिन्न गाउँ तथा टोलमा बार लगाइएको छ।
उक्त बस्तीमा प्रवेश गर्ने जोसुकैलाई पनि गाउँभित्र प्रवेश गर्नु कारण सोधिन्छ। कोहलपुर वडा नम्बर १२ को सुन्दरबस्तीका घरमा कोरोना भाइरस संक्रमण जोखिम रहेको भन्दै काम भए बाटोबाटै बोलाउन र घरभित्र नपस्न भन्दै सूचना नै टाँसिएको छ। सुन्दरबस्ती टोल आर्थिक तथा शैक्षिक रुपमा पछि रहेका बादी तथा गन्धर्व बसोबास गर्ने समुदाय हो ।
सरकारले चार सातादेखि जारी गरेको ‘लकडाउन’को मारमा सबै भन्दा बढी उनीहरु नै छन् ।यहाँका अधिकांश नागरिकको मुख्य आयआर्जनको स्रोत ज्याला मजदुरी हो । भोक बस्नु परेपछि कोरोनाबाट मर्न नपरोस भन्नको लागि यहाँ गज्जबको तरिका अपनाएको देख्न सकिन्छ।
उक्त बस्तीका घरघरमा नोबेल कोरोना भाइरसका कारण एक घरदेखि अर्को घरमा जान निषेध गरिएको छ । ‘काम परे बाटोबाटै बोलाउनुहोस् धन्यवाद। आफू बचौ र अरुलाई पनि बचाऔँ,’ भन्ने जनचेतनामुलक सन्देश टाँसिएको छ।
यो सन्देश रेनुका बइगरका ८ वर्षीय छोराले बनाएका हुन्। ‘छोराले मेरो घरमा बनाएको थियो, पछि मान्छेहरु आउँदा यो सन्देश पढ्न थाले, निकै उपयुक्त भएको प्रतिक्रिया दिन थाले,’ उनले भनिन् । उनकै घरको सिको गरेर अन्य गाउँलेले समेत यस्तै तरिका अपनाएका छन्।
उक्त बस्तीमा अहिले अत्यावश्यक काम बाहेक अरु बेला एक घरबाट अर्को घरमा जान दिएको छैन। उनले आफ्नो घरमा कोही आएको भए पनि सामाजिक दुरी कायम गरेर मात्रै बस्ने गरेको बताइन्।
अर्की स्थानीय सरस्वती सुनार आफू पनि अरुका घरमा नजाने र आफू समेत अरुको घरमा नजाने बताउँछिन्। उनका अनुसार कोरोना भाइरसबाट बच्नको लागि यस्तो उपाय अपनाइएको हो।
सबैलाई सरकारले लगाएतको लकडाउनको पालना गर्न समेत उनले आग्रह गरिन्। ‘यहाँ त गाउँलेहरु छिटफुट बाहेक अरुले पालना गरेको देखिदैन’ उनले भनिन्, ‘सबैले आफ्नो र समुदायको सुरक्षाको लागि एकजुट हुनुपर्छ ।’ यस्तै कोहलपुर नगरपालिका पार्वतीपुरगाउँमा युवाहरू मिलेर पूरै गाउँलाई होम क्वारेन्टाइन जस्तै बनाएका छन् । झन्डै ४० घरपरिवार रहेको गाउँमा चारैतिरबाट बाहिरी मान्छे पस्न नमिल्ने गरी काठका तगारो लगाइएको छ । यूवाहरु दिनभरि युवा चौकीदारी गर्छन् । ‘नयाँ मान्छेलाई गाउँमा छिर्नै दिँदैनौं’ स्थानीय प्रविन चौधरीले भने, ‘रोगले गर्दा कठोर बन्नै पर्दो रहेछ।’ कोहलपुरको लखन गाउँमा पनि तगारोको लक्ष्मण रेखा कोरिएको छ । सिंगोगाउँलाई सुरक्षित राख्न उनीहरूले साबुनपानीले हात धुनसमेत सिकाउँदै आएका छन्।
राहत टोलीमा सुन्दर बस्ती टोलमा पुगेकी कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले कोरोनाबाट बच्नको लागि स्थानीयले गरेको सावधानीले आफूलाई समेत सचेत गराएको बताइन् । उनका अनुसार शैक्षिक रुपमा निकै पछि रहेका सुन्दरबस्तीका नागरिकले गरेको उक्त कार्य नमूना हो। ‘यो बेला सकभर सुरक्षित हुने बेला हो । नगरपालिका तथा वडा बाट पनि हामीले सुरक्षित रहन आग्रह गरिरहेका छौं । यस्ता सावधानी नगर क्षेत्रका विभिन्न ठाउँमा स्थानीयहरुले देखाएका छन्,’ कार्यपालिका सदस्य वलीले भनिन्।
नगरपालिकाले समेत चारवटै नाकामा समेत प्रहरीको विशेष कडाइ गरिरहेको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगर, मदनचोक, चप्पलगौडि र हवल्दारपुर चार नाकामा प्रहरीले कडा सुरक्षा दिइरहेको कोहलपुर प्रहरीले जनाएको छ। यी चार नाकाबाट कोहलपुर प्रवेशमा कडाइ गरिएको छ।
विश्वभर फैलिएको कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण दर नेपालमा पनि प्रतिदिन बृद्धि हुनथालेपछि सुरक्षा ब्यवस्थामा थप कडाइ गरिएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।