मन भित्र सबैको एउटै ढुकढुकी छ। मनहरू आतिए जस्ता, निस्सासिए जस्ता। छरपट्ट छरिएका विचारहरू। एक तमासको हुण्डरी सबै भित्र चलेको छ। रोगले ग्रसित भएका त भईहाले। उनीहरु चिकित्सा व्यवस्था भित्र बसी आफू स्वस्थ्य हुने आशामा छन्। रोगले नभेटेकाहरू कतै फेला परिन्छ कि, भन्ने त्रासमा।
यो रोग लागेपछि आफू मात्र पीडित होइन जहान् परिवार, छर छिमेकमा सर्ने। एक किसिम रोगको शिकार भए सरकारी व्यवस्थाको अस्पतालमा उपचार हुनुपर्छ। आफू पीडितले परिवारलाई मास्न अवश्य खोज्दैन। तर, दुःख बिराममा एक आपसको सहयोग चाहन्छ। यस कोरोना रोगमा आफन्तले मद्धत गर्न सक्दैनन्। डाक्टर नर्सका जिम्माको जीवन।
व्याधिले कति हो कतिको सेवामा तल्लिन यी चिकित्साकर्मीहरू। भोक निन्द्रा त्यागेर लागिपरेका छन्। जति रोगी थपियो उनीहरूमाथि व्यस्तता दायित्व अझै थपिँदै जान्छ। आफ्नो छेउ आफन्त पर्नु नहुने रोग। न यसको स्टीक यहीँ औषधि हो भनेर तोकिएको छ।
संसारभरि लकडाउन छ। मानिस घर परदेश नभनी जहाँ थियो त्यहीँ थुनिएको छ। मुटु भित्र डरको ढुकढुकी सबैको उस्तै छ। ठूलो सानो नभनी विशेष सरकारी कार्यमा खटिएको मानिसबाहेक सबै थुनिएका छन्। संसार भयभीत उभिएको छ। यसको गति रोकिएको छ। कोरोनाको ताण्डवले सबै हाहाकार छ। कसैका मनमा स्थिरता र शान्ति छैन। सहर सहर गाउँ गाउँ मानिस एक पछि अर्को बिरामी भएको खबर थपिएको थपियै छ। सञ्चार माध्यमहरुले आँकडा बताउँदा एक किसिमको जिरिङ्ग सबैका मनमा हुन्छ।
अनेक सहर र देशका नामहरु दिनहुँ थपिँदै जान्छन्। आफन्त रहेका सहर देशको नाम सुन्दा सबैको मन चिसो हुन्छ। तर पनि मलाई होइन अरुलाई नै भेटेको एउटा झिनो आशा सबैले बोकेकै छ। यहाँ त्यहाँ वहाँ कहाँ पो पुगेन र। देश द्वीप, भाषा धर्म कसलाई पो जोगायो र? तर पनि देश देशमा उपचार सुविधा उपलब्ध गराउन सबै सक्षम कहाँ छन र? भारत सम्पन्न देश भए पनि ठाउँ ठाउँमा थुनिएका मजदूरहरू खाने बस्नेका व्यवस्थामा तडपिएकै छन्। देश राजनैतिक, केन्द्र- राज्य केही भेद विनै लागिपरेको छ। मनको डरमा आशाको उदय अवश्य भएको छ।
तर यति विकसित हुँदाहुँदै पनि आफ्नै देशमा रोग लुकाएर बसेका वर्गहरू एउटा भयानक तौरले यहाँ आतङ्क फैलाउन पनि पछि सरेको छैन। मेरो आफ्नो ज्यान पनि सामाजिक प्राणी हुनाले समाजको अङ्ग हो।
म बिरामी भएर आफू मात्रलाई घातक हुन्न। अर्कालाई सरेर यसले अर्काको ज्यान पनि लानसक्छ। आफ्ना कारण अर्कालाई किन हानि गराउनू। यो त दण्डनीय अपराध हो। देशको कानुनले आफ्नो आफ्नो रक्षा गर्न सबैलाई घर भित्रै बस्ने निर्देश दिएको छ। आज विश्वनै डल्लो परेर आ-आफ्ना घर भित्र थुनिएको छ।
हामी पर्खेका छौं। मनमा शङका, भय, त्रास, डरका भुँवरी चलेका छन्। सबै मनहरू चिन्तित छन्। भविष्य के हो? यो भयावह स्थिति कसरी पार लाग्ला? यसले कति ताण्डव अझै मच्चाउँछ? यी प्रश्न सबैले बोकेको छ। जवाफ कसले दिने? सबैलाई एउटै आतङ्क छ। सबै त्राहिमाम् बनेको समय। जतिनै ठूलो विपत्ति आए पनि त्यसको सामना गर्ने पर्ने।
भावि योजना बनाउनेपर्ने। औषधिका अविष्कारमा देश देश लागेका छन्। यसको औषधि त बनिएला। प्रकृतिमा निष्ठुर प्रहार गरी हामी पनि दोषमुक्त रहेका छैनौं। अर्को सर्ने रोग होइन सिधै प्रहार गर्ने पनि आउँदैन भन्न सकिन्न। पर्यावरण रक्षा गर्न सके हामी अन्य रोगका शिकार हुनु पर्ने थिएन कि? मानिस कति कति प्रकारले आफ्नो रक्षा गरोस? रोग व्याध मुक्त भए ऊ हतियार लिई एक आपसमा तानेर उभिन्छ। शान्तिको मात्र प्रयास मानिसले कहिल्यै गरेन। यसैले ऊ सदा भयका भुँवरीबाट मुक्त हुन सकेन।
शान्तिका कामनाले मात्र शान्ति प्रदान गर्दछ। बाँचौं र बाँच्न दियौं भन्ने हाम्रो मन्त्र व्यापक हुनुनै पर्छ। वसुदैव कुटुम्बकम् को विचार विना पुनः शान्ति हुँदैन। ‘मैले गरेर के हुन्छ र?’ भनी हात बाँधेर बसे केही हुँदैन। आजका संसारमा रहेका मानिस हामीनै हौं। हाम्रो सदविचारले केही गर्छ नै। भोलिका उज्यालाका निम्ति दियो बाती आज हामीलेनै ठिक नपारी हुन्न। राम्रो चिञ्तन गरौं। राम्रो सोचौं। सुखको क्षण बितेर सुखको घाम हामी देख्नेछौं।
सकारात्मक विचार सहित आशावान बनौं।