मौसम फेरबदल भइरहेको छ। छिनमै पानी पर्छ। छिनमै टन्टालपुर घाम लाग्छ। ३ हप्ता जतिको सेल्फ क्वारेन्टाइनमा धेरै अनुभूति भए। भावुक पनि उतिकै। छोरी जन्मिएपछि म खासै नेपाल बसिनँ। आउने जाने भै राख्यो। छोरीसँग बाल्यकाल बिताएको थिइनँ। मनमा सधै खट्किएको कुरो यहीँ हो।
आज जोडसँग हावाहुरी चल्यो। पानी पर्न एक छिन लागेन। छोरी झ्यालबाट बाहिर हेरिरही। ‘ड्याडी एकछिन यहाँ आउनू त’, मोवाइलमा झुन्डिएको म ‘झसङ्ग’ भएँ।
ऊ त्यहाँ हेर्नू त त्यो रूखको हागाँमा सर्प जस्तो छ। चराको गुँडमा जान लागेजस्तो लाग्यो। स्मृतिमा मैले अस्ति देखेको बचेरा आयो। पखेटा नपलाएका केही बचेरा चिरबिर गरेर मेरो बिहानी निद्रा खलबल्याउँथे। कति दिन त बचेराको चिरबिर पछि सुत्न गएको छु।
कोरोनाको महामारीले जीवनशैली भताभुङ्ग पार्यो। बिहानको खाना ५ बजे साँझ, सुत्दा बिहान ५ बजे। अस्तव्यस्त भइयो।
साच्चै, म रूखमा हाँगाहरू हेर्दै थिएँ। चराको माउ पखेटा फिँजाएर बचेरा छोपेर बसिरहेको थियो। बिल्कुल हलचल नगरि। म र छोरी शान्त भएर हेरिरहेका थियौं। छोरीको जिज्ञासा मेट्नु थियो। ‘ड्याडी त्यो चरालाई घरभित्र ल्याउन मिल्छ?,’ छोरी म तिर हेरि। म ऊ तिर हेरेँ।
उसले बुझि, मिल्दैन। फेरि भनी, ‘हावाहुरी र पानी कम भएपछि फेरि त्यहीँ लगेर राख्दिने नि। हुन्न?’
म गुँडतिर हेरिरहेँ। ऊ म तिर हेरिरही। माउ चरा हलचल गर्दैन। फोटो खिचेँ। झ्याल खोलेर तर्साउन मन लागेन। तर छोरीको जिज्ञासा मेट्न म हाँगामा आँखाहरू डुलाइराखेँ। अह! त्यहाँ कुनै सर्प थिएन। म चिया बनाउन गएँ। २ कप चिया लिएर फेरि झ्यालमा आएँ। छोरि अझै शसङ्कित छे। फेरि भनी,‘त्यहाँ केही त हल्लिएको छ’, म आश्वस्त पार्न खोज्छु, ‘छैन केही पनि।’
तर ती बचेरा बचाउन माउ चरा तल्लिन छ। पोथी चरा आफ्नो पुरा पखेटा फिँजाएर बसेकी छे। छोरीले सोधी, ‘ड्याडी त्यो बच्चा चराको बा कहाँ गयो होला है? यस्तो हावाहुरी र पानी पर्दा पनि’, आफैंले बनाएको चिया खल्लो लाग्यो। मैले छोरीसँग छुट्टिएका ती १४ वर्ष सम्झिएँ।