दुई गाउँको वर्षभरिको विद्युत महशुल तिरिदिने दुई युवा

बिएल संवाददाता

रूकुम पूर्व

राजु लामिछाने
 

कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउन र असहजतालाई ख्याल गर्दै यहाँका दुई युवाले दुई गाउँको वर्षभरिको बिजुलीको महशुल तिरिदिएका छन्।

सिस्ने गाउँपालिका–७ को नाथिगार घर भई अमेरिकाको टेक्सास राज्यको अष्टिन बस्दै आएका प्रेमबहादुर रावत र मोहन केसीले नाथिगार र औलावाङका सर्वसाधारणको एक वर्षको विद्युत महशुल तिरिदिएका हुन्।

रावत र केसीले यी दुई गाउँका ११५ घरधुरी उपभोक्ताको २०७७ को बिजुलीको महसुल तिरिदिएको जलविद्युत आयोजनाले जनाएको छ। एक वर्षको महशुल हिसाब गरेर रावत र केसीले १ लाख ३८ हजार नगद अग्रिम बुझाइदिएका छन्।

रावतकी श्रीमती मना र केसीकी आमा बालकुमारीले नौधारी खोला लघु जलविद्युत आयोजनालाई २०७७ सालको महसुल अग्रिम बुझाइदिएका हुन्।

आयोजनाका अध्यक्ष शशिधर बुढाले रावत र केसीले नाथिगार र औलावाङका ११५ घर उपभोक्ताको न्युनतम शूल्क वापतको महसुल तिरिदिएको जानकारी दिए।

न्युनतम यूनिटभन्दा बढी खपत भएमा त्यो महसुल भने सम्बन्धित उपभोक्ताले तिर्ने अध्यक्ष बुढाले बताए। समस्याका बेला युवाहरुले गाउँका लागि ठूलो सहयोग गरेको अध्यक्ष बुढाको भनाई छ।

कोरोनाको त्रास फैलिएका बेला सानै भए पनि गाउँमा सहयोग गरिएको रावतले बताए। यसबाट विपन्न तथा ज्याला मजदुरी गर्नेलाई राहत पुग्ने उनको विश्वास छ। रावत र केसीले ६९ हजारका दरले गाउँलेको विद्युत महसुल तिर्न सहयोग गरेका हुन्।

२०७१ मा एक करोड २९ लाखमा बनेको उक्त विद्युत आयोजनाले हरेक उपभोक्ताबाट प्रति महिना न्युनतम १५ युनिट बिजुली खपत वापत सय रूपैयाँ महशुल लिने गर्छ। १५ युनिट भन्दा बढी खपत भएपछि प्रति युनिट ७ रुपैयाँका दरले महशुल तिर्नुपर्छ।

प्रकाशित मिति: : 2020-04-19 11:03:23

प्रतिकृया दिनुहोस्