काठमाडौं महानगरपालिकाले पछिल्लो समय गरेको चार सय ६४ जनाकै कोरोना परीक्षण (कोभिड १९) परीक्षण नतिजा सङ्क्रमणरहित रहेको जनाएको छ । महानगरले गएको बुधबारदेखि परीक्षण सुरु गरेको हो ।
विदेशबाट फर्किएर महानगरपालिकाभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको र्यापिड डायग्नोस्टिक टेस्टमार्फत नतिजा पत्ता लगाइएको हो ।
काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जनाको सम्पर्कमा पुगेका र महानगरका वडा नम्बर ५, ४, १८, १९, २०, २१, २२, २३, २४, २९, ९, १०, ३१ र ३२ मा परीक्षण गरिसकिएको छ ।
अब बाँकी रहेका वडामा पनि नियमित परीक्षण गर्ने महानगरको शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणकार्यसँगै विदेशबाट आएकाको पनि तथ्याङ्क लिने काम भइरहेको छ ।
त्यसैगरी महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर गएको फागुन १८ गतेपछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण सङ्कलन गर्ने जानकारी दिए।
‘अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुको सम्पर्कमा आएकालाई दिएका छौँ, उनले भने।