लक डाउनको मौका छोपेर बन्यजन्तुको शिकार र तस्करी गर्ने गिरोह पक्राउ परेको छ।
रातको समयमा वन्यजन्तुको शिकारसँगै तस्करीका लागि जंगल पसेका आठ जनालाई डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले शुक्रबार राति पक्राउ गरेको हो।
डिभिजन वन प्रमुख मञ्जुर अहमदका अनुसार पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका १७ जैतापुरका भजेन्द्र साह, यादव घिमिरे, दिपक भण्डारी, प्रमेश माझी, वमभोली सहनी, नारायण चौधरी, शिवनारायण माझी र रमेश माझी छन्।
उनीहरुको साथबाट शिकार गर्न प्रयोग हुने तीन वटा भाला, दुई वटा जाल, एउटा बन्चरो र लाईट बरामद गरिएको डिभिजन वन प्रमुख अहमदले जानकारी दिए।
वन गस्ती टोलीलाई देख्नासाथ भाग्ने क्रममा उनीहरुलाई पक्राउ परेको भन्दै महमदले सबै पक्राउ परेकालाई वन ऐन अन्तर्गत वन्यजन्तु शिकार उद्योग मुद्दा दर्ता गरि कारवाही प्रकृया अगाडि बढाइएको जानकारी दिए।
लकडाउनका समयमा प्रहरी प्रशासनको ध्यान संक्रमण फैलिन नदिन लागि परेको बेला मौकाको फाईदा उठाउँदै वन्यजन्तुका तस्करहरु बन क्षेत्रमा काठ तथा जनावरको तस्करीमा केन्द्रीत भइरहेका छन्।