बेलहियाको अध्यागमन कार्यालय सुनसान

पैदलमार्गबाट नेपालमा सवैभन्दा धेरै विदेशी पर्यटक भित्रिने  बेलहियाको अध्यागमन कार्यालय अहिले सुनसान देखिएको छ । सरकारले गरेको बन्दाबन्दीका कारण  २५ दिनदेखि उक्त कार्यालय बन्द भएपछि नेपाल– भारत सीमा क्षेत्रमा आवतजावत ठप्प भएको छ । सुनौली नाकाबाट दैनिक हजारौैंँ पर्यटक भारत र तेस्रो मुलुकबाट  नेपाल आउने गर्थे । 

सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित सो कार्यालय सुनसान भएपछि यहाँबाट दैनिक गुजारा चलाउनेहरुमा चरम निराशा देखिएको छ ।  सीमानाका बेलहियामा गुजराती समाज सार्क टुर एण्ड ट्राभलका सञ्चालक श्रीचन गुप्ताले नेपालमा विभिन्न पर्यटकियस्थल घुमाएर जीवन चलाइरहेको उल्लेख गर्दै अहिले आफू बेरोजगार हुनुपरेको गुनासो गरे। उनका ६ कर्मचारीसमेत पर्यटकको आगमन बन्द भएपछि फुर्सदिला  छन् । गुप्ता भन््छन्, ‘कर्मचारीको परिवारलाई सहयोग गर्ने जिम्मासमेत मेरो हो तर अहिले धेरै अप्ठेरो भएको छ ।’

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मैलवारमा रहेको एञ्जल होलिडे ट्राभल एण्ड टुरका सञ्चालक प्रकाश भट्टराईले पनि बन्दाबन्दीपछि गुप्ताको जस्तै अवस्था भोग्नुपरेको छ । सधैँ रमाइलो गर्न आउने आन्तरिक तथा विदेशी पर्यटकलाई लुम्बिनी घुमाउने र धार्मिक पर्यटकलाई गुम्बाका विषयमा जानकारी दिन व्यस्त  भट्टराईले अहिले पेशा संकटमा परेको बताए।

रुपन्देही जिल्लामा १०३  ट्राभल कम्पनीमा  ५०० भन्दा वढी कर्मचारी कार्यरत छन् । सबैको अवस्था गुप्ता र भट्टराईको जस्तै रहेको नेपाल एशोशियशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाटा) का प्रदेश नम्बर ५ का महासचिव चन्द्र थापाले जानकारी दिए। प्रदेश नम्बर ५ मा १५० भन्दा बढी ट्राभल एजेन्सी र त्यसमा ७०० भन्दा बढी कर्मचारी कार्यरत छन् । 

‘बन्दाबन्दीपछि सबै घरभित्र बस्नु परेको छ,’ सोटो नेपाल लुम्बिनीका अध्यक्ष सञ्जय बजिमय भन्छन्। उनले विशेष व्यवस्था गरेर बन्दाबन्दीपछि व्यवसायीलाई पुरानो अवस्थामा फर्काउनका लागि  पहल गर्न सरकारसँग आग्रह गरे। प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले  नेपालको पर्यटन क्षेत्रको मात्र नभएर यो समस्या अन्तराष्ट्रिय समस्या भएको उल्लेख गर्दै  कोरोना भाइरसको प्रकोपबाट मानव जगत्को सुरक्षा गर्नु एक मात्र विकल्प बन्दावन्दी भएको जानकारी दिए।

भारत र तेस्रो मुलुकबाट बेलहिया नाका हुँदै वार्षिक रुपमा  आउने पर्यटकको सङ्ख्या ठूलो रहेको छ । सन् २०१९ मा राहदानी बोकेर आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या एक लाख ६१ हजार भएको अध्यागमन कार्यालय भैरहवाको तथ्याङ्कमा देखिएको छ । 

सन् २०२०  मार्च महिनामा मात्र राहदानी बोकेर आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या २८ हजार ७८१ रहेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले जानकारी दिए। भारतीय पर्यटक भने दैनिक करीब पाँच हजार आउने गरेका छन् । 

 चोरीतस्करी
लुम्बिनी– बन्दाबन्दीको फाइदा उठाएर चोरीतस्करी गर्नेहरु सक्रिय छन् । नेपाल–भारत सीमामा सामान्य अवस्थाभन्दा सुरक्षा तैनाथी बढाइएको भए पनि मर्चवार क्षेत्रमा चोरीतस्करी भइरहेको स्थानीयवासीले बताएका छन् । 
स्थानीय हृदयराम गुप्ताले नेपालबाट भारततर्फ मदिरा र केराउ गइरहेको जानकारी दिए। भन्सार नगरेको उक्त समान अवैध ढङ्गले सीमापारि गएको हो । भारतबाट चामल, तेल, तरकारी, दाल, चिनी र किराना सामग्री आएको छ । 

मदिरा लिएर भारत लैजाँदै गरेका व्यक्तिलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेर प्रहरीको जिम्मा लगाइएको छ । ती व्यक्तिलाई एक सय चार बोतल मदिरा लिएर भारत जाँदै गर्दा सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको थियो । 

चोरीतस्करी गरी मर्चवारको नाका हुँदै नेपाल प्रवेश गराइएको सामान भैरहवाको गल्लामण्डीमा पु¥याउने गरिएको बुझिएको छ । गल्लामन्डीमा आलुप्याजका गोदाम मात्रै होइन खाद्यान्नका भण्डार पनि खुलिरहेका छन् । 
मर्चवारका अर्का  बासिन्दा गोबद्र्धन केवटले तस्करले सामान्य अवस्थामा भन्दा यतिबेला झन् ढुक्क भएर कारोवार गरिरहेको बताए।

उनले भने, ‘ अरुबेला स्थानीय घरबाहिर हुँदा चोरीतस्करी भएको देख्थे र प्रहरीलाई खबर गर्थे तर अहिले उनीहरुलाई अवरोध गर्ने कोही छैन । ’
स्थानीय बासिन्दा असलम खानले मर्चवार क्षेत्रमा यतिबेला चोरीतस्करी हवात्तै बढेर गएको बताए।

उनले भने, ‘पहिले पहिले राति हुन्थ्यो अहिले त दिउंँसो नै तस्करी रहेको छ । ’ जिल्लाका मर्चवार, केवलिया, पिपरिहिया, भगवानपुर, चनौली बगाह, कालीदह, बगौली, चन्नी, करौता, थुमुहवा पिपरहवा, मुडुलालगायत नाकाबाट दैनिक चोरीतस्करी गरेर दाल, तेल र चामललगायतका सामान भित्रिरहेको तथा नेपालतर्फबाट केराउ र रक्सी चोरी निकासी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले अहिलेसम्म यस विषयमा कुनै जानकारी नभएको उल्लेख गर्दै यस्तो समयमा चोरीतस्करी हुनु गम्भीर अपराध भएको बताए। 

प्रकाशित मिति: : 2020-04-18 15:35:19

प्रतिकृया दिनुहोस्