अफ्रिकामा कोरोनाबाट तीन लाख मानिसको ज्यान जान सक्छ : डब्ल्यूएचओ

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।

डब्ल्यूएचओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन्। यस्तै याे महामारीबाट कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

डब्ल्यूएचओ अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अहिलेको अवस्थामा यो संख्या आंकलन गरिएको बताए। तर यो संख्यामा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ।

उनले महामारीले सो क्षेत्रका तीन करोड मानिसलाई गरिबीको रेखामुनि धकेल्ने सम्भावना रहेको पनि संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।

यसअघि अफ्रिकामा इबोलाको महामारी फैलिँदा डब्ल्यूएचओले गरेको अनुमान मिलेको थिएन।

त्यतिबेला मानिसहरुले आफ्नो बानीमा परिवर्तन गरेको कारण सबैभन्दा खराब अवस्था आउनबाट बचेको भन्दै याओले अहिले पनि त्यो अवसर रहेको बताए।

अहिलेसम्म अफ्रिकामा १७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। भाइरसको कारण अफ्रिकामा करिब नौ सय मानिसको मृत्यु भइसकेको छ।

अफ्रिकामा एक अर्ब ३० करोड मानिसको बसोबास रहेको छ। अहिलेसम्म उत्तरी अफ्रिका सबैभन्दा बढी प्रभावित भएको छ। अल्जेरिया, इजिप्ट र मोरक्कोमा दुई हजार भन्दा बढी संक्रमित रहेका छन्। अफ्रिकाका धेरै देशमा अहिले लकडाउन लागु गरिएको छ।

तर, अफ्रिकाको कमजोर स्वास्थ्य सेवाको कारण यो भाइरसको संक्रमण केही दिनमै ह्वात्तै बढ्नसक्ने आशंका छ।

संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले मानिसको मृत्यु हुने सक्ने चेतावनी दिँदै सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ।

यस्तै भाइरसको संक्रमण अफ्रिकाका राजधानी भन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको बताएको छ। राजधानी बाहिरका इलाकामा संक्रमण फैलिएमा अवस्था भयावह हुने डब्लुएचओले उल्लेख गरेको छ। अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेकाले पनि चिन्ता थप भएको डब्लुएचओले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-18 07:24:11

प्रतिकृया दिनुहोस्