पर्खाल

कथा

‘सुन् प्रकाश तैंले त्यो केटीसँग विवाह गरिस् भने मसँग कहिल्यै पनि नबोल्,’ दाइले फेरि फोन मै चेतावनी दियो। दाइ चाहन्छ कि, मैले मधेसतिरकै कुनै केटी विवाह गरौं। जबदेखि दाइले मेरो र प्रीतीको बारेमा थाहा पायो। तबदेखि मसँग राम्रोसँग बोलेको छैन। मसँग केही कुरा गर्नुपर्‍यो भने ऊ भाउजुलाई भन्छ। आज आफैंले निकै साहस बटुलेर उसलाई फोन गरेको थिएँ। त्यो पनि उसले चेतावनी मात्रै दिएर फोन काटिदियो।

सानैमा बुवा बित्नुभयो। आमा बित्नुभएको एक वर्ष पनि पूरा भएको छैन। जबदेखि आमाबुवा दुबैले छोडेर जानुभयो दाइ र भाउजुले नै मलाई आमा र बुवा दुबैको माया दिनुभएको छ। दाइ र मेरो उमेरमा ५ वर्षको मात्रै अन्तर छ। त्यसैले म उसलाई ‘तिमी’ नै भनेर सम्बोधन गर्छु अनि बुवालाई जतिकै सम्मान पनि गर्छु। उसको विरूद्धमा म कहिले पनि गईनँ। अबका दिनमा पनि मलाई उसको विरुद्धमा जान कठिन भईरहेको छ।

दाइ आफ्नो परिवारसँग जनकपुरमै बस्छ। उसको श्रीमती अर्थात् मेरी भाउजु, अनि एक छोरा र एक छोरीको साथमा। म चाहीँ आफ्नो कामको शिलशिलामा विगत ७ वर्षदेखि यहीँ राजधानीमा आफ्नो भविष्य खोजिरहेछु। यहाँ मेरो सानो ममी, सानो बुवा, बहिनी र भाइ छन्। कहिलेकाहीँ दिक्क लाग्यो भने म उहाँहरूकहाँ गएर आफ्नो एक्लोपन मेटाउँछु।

****

त्यसदिन सानोममीको घरमा पूजा थियो। म अलि छिट्टै गरेर त्यहाँ पुगेँ। सबैजना पूजाको लागि भ्याईनभ्याई काम गरिरहेका थिए। म जाने बित्तिकै बहिनीले मलाई आफ्नो साथीसँग चिनाई। मैले दुई हात जोडेर नमस्कार गर्दै भने, ‘म प्रकाश झा।’ उसले आफ्नो हात अगाडि बढाएर भनी ‘म प्रीती रिजाल।’ मैले अलि असहज मानेर उसँग हात मिलाएँ। किनकि, आजको दिनसम्म कुनै केटीसँग मैले त्यसरी हात मिलाएको थिईनँ। सानोममीको घरमा लगाइएको पूजाको बहानामा प्रीतीसँग परिचय गर्ने मौका मिल्यो। गुलावी रङ्गको कुर्ता सुरूवालमा निकै खुलेकी थिई ऊ। पूजा सकिने बित्तिकै काम छ भनेर त्यहाँबाट प्रीती निस्केर गई। ऊ जानासाथ मलाई सानोममीले मेरो लागि उहाँले खोजेको केटी उही हो भनेर बताउनु भयो। 

केही दिन अगाडि मात्रै सानोममीले मलाई विवाह गर्ने सुझाव दिनुभएको थियो। मैले उहाँको सुझावलाई खासै गम्भीरतापूर्वक लिएको थिइनँ। तर उहाँले त मेरो लागि केटी नै खोजीसक्नुभएछ। मलाई प्रीती ठिकै लाग्यो। तै पनि विवाह जस्तो ठूलो कुरामा तत्काल केही निर्णय गरिहाल्न सकिनँ। बहिनीसँग प्रीतीको नम्बर लिएर घर फर्केँ।

प्रीती र मेरो फोनमा कुरा हुन थाल्यो अनि त्यसपछि बिस्तारै भेट पनि बाक्लिदैं जान थाल्यो। ऊ बानेश्वरको एउटा कम्पनीमा काम गर्थी। म जाउलाखेलमा। हाम्रो भेट हप्तामा दुई तीन पटक हुन्थ्यो। उसको आँखामा मैले मेरो लागि धेरै माया देखेँ। प्रीती मभन्दा लगभग चार वर्षले जेठी थिई। प्रीती मभन्दा जेठी छे भन्ने कुरा थाहा पाएपछि मेरो मन कता कता खिन्न भयो। तर जब उसले मलाई आफूभन्दा बढी माया गर्न थाली मैले उमेरको कुरा बिर्सिएँ।

मैले उसको मायामा यो पनि विर्सिएँ कि, उसको पहिल्यै विवाह भएर सम्बन्धबिच्छेद भईसकेकी केटी हो। हुन त सम्बन्ध विच्छेद हुनुमा ऊ बिचरीको के दोष र? तर हाम्रो समाजले यस्ता कुराहरु अझै पनि पचाउन सकेको छैन। मलाई त कुनै समस्या थिएन। तर, मेरो दाइ भाउजुले यो सम्बन्ध स्वीकार्ने कुनै सम्भावना देख्दिनँ थिएँ।

म सबैकुरा मिलाउँदै लैजाने विचारमा थिएँ। प्रीतीले मसँग आफ्नो आमाबुवालाई भेट्न कर गरिरहन्थी। धेरै कर गरेपछि मैले सानोममीलाई लिएर उसको घर जाने विचार गरेँ। सानोममीले पनि उसको घर गईहाल्न मान्नुभएन। म एक्लै त झन् कसरी जान सक्थेँ र। उसलाई भेट्नुपर्दा बाहिरै भेट्थेँ। कतै गएर फर्किदाँ घर अगाडिसम्म छोडिदिन्थेँ तर घरभित्र पस्दिन थिएँ।

छठसम्म बस्ने उद्धेश्यले म दसैं सुरू हुनुअगाडि नै घर गएँ। घर पुगेर त्यसदिन बेलुकाको खाना खाईसकेपछि मैले दाइलाई प्रीतीको बारेमा भनेँ। प्रीती मभन्दा जेठी छे भन्ने थाहा पाउनासाथ दाइ अलि हच्कियो। उसले गम्भीर भएर भन्यो, ‘केटी तँभन्दा जेठी रहिछे। तेरो जीवन हो, मैले केही भन्ने कुरा आउँदैन। तँलाई जे ठिक लाग्छ त्यही गर्।’

दाइको कुराले मेरो मन खिन्न भयो। मलाई के गरौं कसो गरौं भयो। दसै तिहार सकिएर छठ आउन ३ दिन बाँकी थियो। दाइले मलाई फेरि कोठामा बोलाएर भन्यो, ‘प्रकाश तैंले कोही केटी पाईनस् र त्यो डिभोर्स भईसकेको केटीसँग विवाह गर्न लागिस्?,’ दाइको कुरा सुन्नासाथ मलाई कुनै डरलाग्दो भीरबाट खसेजस्तो महसुस भयो। दाइलाई सबै कुरामा मनाएर पछि मात्रै प्रीतीको डिभोर्सको कुरा भनिदिउँ जस्तो लागेको थियो। तर, मैले भन्नुभन्दा अगाडि दाइको कानमा त्यो कुरा कसले पुर्‍यायो थाहा पाउन सकिनँ। दाइ मसँग बोल्नै छोड्यो। मलाई पनि घर बस्नै मन लागेन र म छठ अगाडि नै दाइलाई केही खबरै नगरी काठमाडौं फर्किंएँ।

***

काठमाडौं आएदेखि आज दाइले पहिलोपटक फोन गरेको थियो। त्यो पनि चेतावनी दिएर राखिदियो। दाइले विरोध गरेपछि मैले प्रीतीसँग सम्पर्क गर्नै छोडिदिएँ। ऊ दिनमा दश पटकभन्दा बढी मलाई फोन गर्थी। तर म उसको कुनै फोन उठाउँदिन थिएँ। म्यासेजको त कुरै छोडौं। मेरो मोबाईल उसकै म्यासेजले मात्रै भरिन्थ्यो। गुड मर्निङदेखि बेलुका गुडनाईटसम्म म्यासेज पठाउँथी ऊ। तर म यतिखेर दाइको कारणले केही सोच्न सकेको छैन। सानोममीले पनि आजकल प्रीतीको बारेमा खासै चासो देखाउनुहुन्न। मैले पनि उसलाई पूरै बेवास्ता गर्न थालेको छु। एक हातले ताली कहाँ बज्छ र? एकोहोरो म्यासेज गर्दागर्दै थाकेकी प्रीतीले त्यसपछि मलाई म्यासेज र फोन नै गर्न छाडी। मलाई खासै केही फरक परेन।

म आफ्नो काममा यति व्यस्त हुन थालेँ कि मलाई अन्य कुराको बारेमा सोच्नेसमेत फुर्सद हुन छोड्यो। यता प्रीतीसँग मैले बोल्न छोडेपछि उसले पनि फोन र म्यासेज बन्द गरी, उता दाइलाई जति फोन गरे पनि मसँग बोल्नै चाहेन। उसै त आमा गुमाएर एक्लो भएको मलाई झन् एक्लो महसुस हुन थाल्यो। मैले दाइसँग हार मानेर उसैले खोजेको केटीसँग विवाह गर्ने निर्णय गरेँ। मेरो निर्णय फेरिएको देखेर दाइ मसँग खुसी भयो।

दाइ बोल्न थालेपछि म उसँग भेट्न फेरि जनकपुर गएँ। दाइको मनमा अब मप्रति कुनै गुनासो थिएन। उसैले खोजेको आफ्नै परिवेशको केटीसँग विवाह गर्ने निर्णयले मप्रतिको उसको गुनासो सबै पखालिएको थियो। त्यसदिन घर पुगेपछि दाइ र मैले सँगै बसेर धेरैदिन पछि गफ गर्‍यौं। कुरैकुरामा उसले भन्यो, ‘तैंले आफ्नो निर्णय बदलेर राम्रो काम गरिस् प्रकाश, एक त तँभन्दा जेठी केटी त्यसमाथि डिभोर्सी। सानोममीले नभन्नुभएको भए त मलाई थाहा नै हुन्थेन। अब आफ्नै कुलको र आफू सरहकै केटी विवाह गर्नुपर्छ।’

प्रीतीको डिभोर्स भएको कुरा सानोममीले नै दाइलाई भन्नुभएको थाहा भएपछि म अवाक भएँ। जुनकुरा मैले सपनामा पनि चिताएको थिईनँ त्यही भयो। सानोममीले यति ठूलो खेल खेल्नुहोला भन्ने मलाई लागेको थिएन। मेरो र प्रीतीको भेट गराएर गोरेटोको भूमिका निभाउनु भएको सानोममीले दाइसँग प्रीतीको डिभोर्सको कुरा गरेर छुटाउन चाहेर दोबाटोको पनि काम गर्नुभयो। मैले सानोममीको यस्तो रूप पहिला कहिल्यै देखेको थिईनँ। मनमनै यी सबैकुरा सोचे पनि दाइसँग केहीकुरा भन्ने हिम्मत गर्न सकिनँ।

हरेक घरमा भाइको लागि दाइहरूले आफ्नो खुशी धितो राखिदिन्छन्। तर मेरो घरमा मैले दाइको लागि आफ्नो खुशी धितो राखिदिएँ। प्रीतीप्रति फेरि मनमा माया पलाउँदा पलाउँदै पनि मैले केही गर्न सकिनँ। दाइले जे जे भन्यो मैले अन्धभक्त झैं सबै गरिरहेँ।

ममीको वर्ष दिनको काम पनि सकियो। दाइकै ईच्छाअनुरुप मैले उसैले खोजेको केटी ‘अनिता शाह’ सँग विवाह गरेँ। आफ्नै परिवेश र आफ्नै गाउँको। जस्तो दाइ चाहन्थ्यो त्यस्तै भयो। तर जस्तो मैले चाहेँ त्यो भएन। विवाह पछि दाइले मलाई जनकपुरमै काम गर्ने दबाब दिन थाल्यो। मैले फेरि ज्ञानी बच्चा झैं दाइको आज्ञा सिरोपर गरेँ। उसकै ईच्छा अनुरुप जनकपुरकै एउटा कम्पनीमा काम गर्न थालेँ।

समय आफ्नै गतिमा चल्दै गयो। दाइको बानीमा धेरै परिवर्तन आईसकेको थियो। अनिताले दाइजोमा ल्याएको सामान र पैसा सबै उसैले राख्यो। म दाइको बानीसँग बिस्तारै परिचित हुन थालेँ। जुन मैले बितेका दिनहरुमा कहिल्यै महसुस गरेको थिईनँ। दाइको करकापले विवाह गरेर भित्रिएकी अनिता पनि दाइसँगै परिवर्तन भई।

अनिता मेरो अलिकति पनि ख्याल राख्दिन थिई। हप्ताको तीन दिन त ऊ अनेक वाहनामा माइतीमै हुन्थी। जुन दाइसँग विगत ३० वर्षदेखि सँगै थिएँ उसले त वास्ता गर्न छोडिसकेको थियो भने अस्ती भर्खर मेरो जीवनमा प्रवेश गरेकी अनिताबाट के आश गरौं म।

अनिताले घरपरिवारमा अलिकति पनि माया दर्शाउन चाहिन। एकपटक दाइसँग हार मानेर अनितासँग विवाह गरेको थिएँ। यसपटक मेरो पूरै परिवारसँग हार खाएर म घरबाट निस्किएँ। धेरै दाइजोको आश गरेर दाइले मलाई अनितासँग विवाह गर्न दबाब दिएको थियो। अनिताले दाइ प्रशन्न हुने गरेर दाइजो त लिएर आई तर आफ्नो संस्कार माईतीमै छोडेर आई। दाइसँग कुरा हुन छोडेपछि म आफ्नो सबै सामान प्याक गरेर फेरि काठमाडौं फर्किएँ।

सबैतिरबाट हण्डर खाएपछि मलाई प्रीतीको यादले सताउन थाल्यो। तर उसलाई फोन गर्ने र उसँग कुरा गर्ने हिम्मत मसँग थिएन। मैले बिस्तारै बिस्तारै उसको यादलाई बिर्साउने कोशिश गरेँ। मसँग अब काम पनि थिएन। सबैकुरा पछाडि छोडेर आएपछि म रित्तो भएको थिएँ। अनेक बाधा छिचोल्दै यो ठूलो शहरमा म एक्लै भौतारिरहेको थिएँ। मलाई आफ्नो जीन्दगी शून्यबाट सुरू गर्नु थियो।

अनेक दुःख र कष्ट झेल्दै मैले थप दुई वर्ष काठमाडौंमा एक्लै कुनै आफन्तको साथ र सहयोग बिना बिताएँ। मसँग आफ्नो छायाँबाहेक अरु केही पनि थिएन। अनि थियो त एउटा पापी पेट जसलाई पाल्नको निम्ति पनि मैले केही काम त गर्नै पर्थ्यो। वर्षौ पहिले आफूले बिना कुनै खबर काम छोडेर गएको थिएँ। मसँग मास्टर्स टप गरेको सर्टिफिकेट हातमा थियो, तर कुनै काम थिएन। यसै पनि सोर्सफोर्समा मात्रै काम पाईने यो ठाउँमा मैले काम पाउन कठिन थियो।

बल्लबल्ल मुस्किलले कालिमाटीको एउटा कम्पनीमा आईटी सेक्टरमा काम पाएँ। एकरात कामबाट फर्किँदा हावा हुरी चलेर साँझ चकमन्न अध्याँरो देखिन थालेको थियो। काठमाडौंको व्यस्त सडकमा गाडीको चाप उस्तै थियो। म पानी पर्ने डरले तीव्र गतिमा बाईक कुदाउँदै थिएँ। अचानक आँखामा धुलो पर्‍यो। मैले केही बाटो देख्न सकिनँ र विपरीत दिशाबाट आएको कारले मेरो बाईकलाई ठक्कर दियो। म भूईँमा बेस्सरी बजारिएँ।

होश खुल्दा म अस्पतालमा थिएँ। मैले बिस्तारै आँखा खोलेँ। हात भाँच्चिएको थियो। मेरो वरपर नर्सबाहेक कोही थिएन। मैले सकिनसकी नर्सलाई सोधेँ, ‘म यहाँ कसरी आएँ, कसले ल्यायो मलाई।’ नर्सले सबै वृतान्त बताउँदै भनिन्, ‘तपाईलाई यहाँ ल्याउँदा बेहोस् हुनुहुन्थ्यो, तपाईँको शरीरमा रगतको मात्राको कमी थियो। जसले तपाईँलाई ल्याउनुभयो भाग्यवश तपाईको र उहाँको ब्लड ग्रुप पनि एउटै रहेछ र उहाँले तपाईलाई ब्लड पनि दिनुभयो। तर उहाँले आफ्नो नाम नभन्न हामीलाई अनुरोध गर्नुभएको छ। सरी हामी तपाईलाई उहाँको बारेमा भन्न सक्दैनौं।’ नर्सको जवाफ सुनेपछि मलाई झन् छटपटी भयो। शरीरमा लागेको चोटले पनि त्यति दुखेन जति मन छट्पटिएर दुख्यो।

म अस्पतालको बेडमा छट्पटिदै निदाएँ। अचानक निधारमा स्पर्श गरेको कसैको हातले मेरो निन्द्रा खुल्यो। आँखाभरी आँशु लिएर मेरो साथमा उही थिई जसले र्दुघटनापछि बेहोस भएको मलाई अस्पताल ल्याएकी थिई। अनि त्यो अरू कोही नभएर मेरी प्रीती थिई जसलाई मैले दाइको लागि छोडेको थिएँ। दुई वर्षपछि प्रीतीलाई आफ्नो अगाडि देखेर मेरो आँखा रसाईरहे र उसको उपस्थितिमा मैले सबै पीडा भुलेँ।

आँखाभरी आँशु पार्दै प्रीती भन्दै थिई, ‘म अफिसबाट घर जाँदै थिएँ मानिसको घुँईचो देखेँ। के को भीड रहेछ भनेर म नजिकै गएँ। तपाईलाई बेहोस् भएर लडेको देखेँ। त्यो दृश्य पछि मैले आफैंलाई सम्हाल्न सकिनँ। तर मन थामेर सबै मान्छेसँग मिलेर एम्बुलेन्स बोलाएर यहाँसम्म ल्याएँ।’

मैले दुखाई सहदैं भने, ‘मैले त्यसरी बेवास्ता गर्दा पनि तिमीले मलाई मर्न किन दिएनौं प्रीती, किन बचायौ म जस्तो स्वार्थी मान्छेलाई?’

ऊ केही बोलिन चुपचाप मेरो हातमा हात राखेर रोईरही। प्रीती र मेरो बिचमा जात र समाज भन्ने बलियो पर्खाल उभिएको थियो। जसले गर्दा मैले उसलाई चाहेर पनि आफ्नो बनाउन सकेको थिईन। यसपटक मैले सबै पर्खाल भत्काएँ र प्रीतीसँगै रोइरहेँ।

प्रकाशित मिति: : 2020-04-18 08:56:00

प्रतिकृया दिनुहोस्