‘ट्राभल हिस्ट्री’: उदयपुरका १२ संक्रमित भारतीय, चितवनका दुई बेलायतबाट हङकङ हुँदै नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा एकैदिन १४ जनामा कोरोनाभा इरस पोजेटिभ देखिएको छ। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ जनै पुरुष क्रमश: ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवन जिल्लाको २ वटा केस एक पुरुष, २७ र  एक महिला ६३ बर्षियमा काेराेना संक्रमण भेटिएकाे हाे।

 नेपालमा याेसँगै संक्रमितको संख्या ३० पुगेको छ।

उदयपुरका संक्रमित भारतीय

उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए। 

भुल्केस्थित मस्जिदमा  केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। 

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। 

उनीहरू एक महिना अगाडि मोरङ, सुनसरी र सप्तरी हुँदै उदयपुर आएको भन्ने बुझिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए। 'उहाँहरू मस्जिदको ठूलो हलमा हुनुहुन्छ। हामीले निगरानी गरिरहेका छौं,' उनले भने। 

चितवनका संक्रमित बेलायतबाट हङकङ हुँदै नेपाल 

चितवनमा भेटिएका दुई संक्रमित बेलायबाट आएका हुन्। राप्ती नगरपालिकाकी कोरोनाको संक्रमण देखिएको बेलायतबाट आएकी महिलाले गाउँमा चकलेट बाँडेको खुल्न आएको छ।

उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए।

‘उनीहरू चैत ३ गते नेपाल आएर ५ गते चितवन आए भन्ने जानकारी छ। चितवन के मा आए, काठमाडौंमा कहाँ बसे केही पनि बताएका छैनन्,’ थपलियले भने।‘

उनका अनुसार लकडाउनपछि नगरपालिकाले विदेशबाट आएकाहरूको नाम टिपोट गर्न सर्कुलेनस जारी गरेकाे थियाे। नगरपालिकाकाे आग्रहमा उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए।

वडाले सबै विदेशबाट आएकाहरूको थर्मल-गनले ज्वरो जाँच्ने क्रममा कुनै लक्षण नदेखिएको उनले बताए।

‘त्यो बेलामा कुनै लक्षण देखिएको थिएन। पछि हामीलाई केही भएको छैन भन्दै अस्पताल जान पनि आनाकानी गर्नुभयो। बल्ल बल्ल पठायौं,’ थपलियाले भने।

पिसिआर परीक्षण गर्दा ३ जनामध्ये आमा-छोराको नतिजा पोजेटिभ देखिएको थियो भने हङकङबाट आएका अर्का छोराको भने नतिजा नेगेटिभ आएको थियो।

प्रकाशित मिति: : 2020-04-17 20:10:00

प्रतिकृया दिनुहोस्