कोरोना कहर : भक्तपुर छिर्ने सवारीसाधनलाई निसङ्क्रमण गर्न शुरु

कोभिड–१९ को सङ्क्रमण रोक्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ। भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु गरिएको हो।

प्रमुख नाका अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौँको जडीबुटी नाकामा शुरु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए।

'केही दिनभित्रै अरनिको राजमार्गकै वैकल्पिक सडकअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडक तथा भक्तपुर–काठमाडौँ पुरानो बाटोको पेप्सीकोला नाका भएर मध्यपुरथिमि प्रवेश गर्ने सवारीसाधनलाई नाकामा निसङ्क्रमण गर्ने तयारी भएको छ' उनले भने, 'प्रत्येक नाकामा सम्बन्धित नगरपालिकाले निसङ्क्रमण गर्ने व्यवस्था गर्ने गरी भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सहयोग र समन्वय गरेका छन्।'

 सवारीसाधनलाई निसङ्क्रमण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले स्वयंसेवक परिचालन गरेको उनको भनाइ छ। भक्तपुर प्रवेश गर्ने जडीबुटी र साँगा नाकामा तीन तीन जना स्वयंसेवक परिचालन गरी सवारीसधानको भित्र र बाहिर जीवाणुनाषक स्प्रे गरेर सवारीसाधनलाई जीवाणुमुक्त बनाउने काम गरेको रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले जानकारी दिए।
    
मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले पनि पेप्सीकोला नाका र नाला नाकाबाट भित्रिने सवारीसाधनलाई निसङ्क्रमण गर्ने तयारी गरेका छन्। रेडक्रसले केही दिनमै यी दुई नाकामा पनि निसङ्क्रमण गर्न शुरु गर्ने सभापति थापाको भनाइ छ।

प्रकाशित मिति: : 2020-04-17 17:57:14

प्रतिकृया दिनुहोस्