सरकारले कोभिड–१९ को जोखिम रोक्न गरेको लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ।
गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाएर उद्धार गरेको गाउँपालिका अध्यक्ष गीता गुरुङले जानकारी दिइन्।
उनका अनुसार आफ्नो गाउँपालिकामा आइ पुगेका सबैको उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ। 'आफैं राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समयभन्दा बढीलाई गन्तव्यतर्फ पठाएका छौं' उनले भने। पायकपर्ने ठाउँसम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिलाई पठाएको उनको भनाइ छ।
'पश्चिम र पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने मजदूरहरु रहेका छन्' अध्यक्ष गुरुङले भनिन्, 'गाडीमा चढेर आएकालाई प्रहरीले जाँच गरी झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाइएका छौं।' आफ्नो गाउँपालिकाभित्र जनताको बिचल्ली भएको टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ।
इच्छाकामना गाउँपालिका धादिङको रोराङ्ग गाउँपालिकासँग जोडिएको छ। राजधानीबाट फर्किएका मजदूरहरु यही बाटो हुँदै बाहिरी जिल्ला जाने गरेका छन्।