चीनले काेराेनाकाे कारण मर्नेकाे संख्या सच्यायो, एक हजार २९० मृतक थपिए

चीनको वुहान कोभिड-१९ नियन्त्रण र रोकथाम ‘टास्क फोर्स’ ले तथ्यांक परिमार्जन गर्दै मृतकको संख्या ५० प्रतिशत बढी रहेको पाएको जनाएको छ।

महामारी सुरु भएको वुहान सहरमा झण्डै ५० प्रतिशतले मृत्यु हुनेको सङ्ख्या बढेको पाइएको हो। अस्पताल बाहिर भएका मृत्युको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १२ सय ९० मृत्युका घटना पुष्टि गरिएको हो।

अस्पतालसम्म पुग्न नसकी मृत्यु भएका बिरामीको संख्या थपिएको, कतिपय ठाउँमा ढिलो, गलत र दोहोर्याएर बिरामी र मृतकको संख्या  टिपाइएको, बिरामीको उपचार गर्ने नीजि, अस्थायी र अन्य अस्पतालबाट सूचना संकलन समयमा नभएको जस्ता कारणले मृतकको संख्या फेरिएको टास्क फोर्सले जनाएको छ। 

‘जनता र तिनको जीवन सबैभन्दा महत्वपूर्ण छ। महामारीमा समयमा गुमेका जीवन उनीहरूको परिवारका लागि मात्र दु:खकाे कुरा होइन। शहरकै लागि उत्तिकै दुखद कुरा हो। महामारीमा जीवन गुमाएका व्यक्तिका परिवार, हाम्रा कमरेड र  स्वास्थ्यकर्मीका परिवारलाई पनि हामी हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं’ टास्क फोर्सले भनेको छ। 

तीन हजार ८६९ जनाको मृत्यु भएको वुहान चीनमा कोभिड–१९ बाट सबैभन्दा धेरै क्षति भएको शहर हो। एक करोड १० लाख भन्दा बढी जनसंख्या भएको उक्त शहरमा संक्रमितको संख्यामा पनि ३२५ जना थप गर्दै ५० हजार ३३३ जना पुर्याइएको छ। यो संख्या चीनमा संक्रमित भएका ८२ हजार ३६७ को दुईतिहाई भन्दा बढी हो। 

प्रकाशित मिति: : 2020-04-17 13:47:34

प्रतिकृया दिनुहोस्