कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि कोलम्बियामा देशभर क्वारेन्टाइन लागु गरिएको छ। कोलम्बियामा लकडाउन लागु भएको चौथो हप्ता सुरु भएको छ। अप्रिल २७ सम्म लकडाउन लागु हुनेछ।
सबै नागरिकलाई घरमै बस्न भनिएको छ। तर राजधानी बोगोटाका गरिब बासिन्दाले उचित राहतको माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरुले राहतको राम्रो व्यवस्था गरिएमा मात्रै आफूहरु क्वारेन्टाइनमा बस्न सक्ने भन्दै प्रदर्शन गरेका हुन्। उनीहरुले कुकर,कुकरकाे बिर्काे र तालि बजाएर प्रदर्शन गरेका थिए।
लकडाउनका कारण काम गुमाएका गरिबहरुका लागि राष्ट्रपति तथा बोगोटाका मेयरले सहयोगको घोषणा गरेका छन्, तर आफूहरुले सो सहयोग नपाएको सर्वसाधारणले उल्लेख गरेका छन्।
बोगोटाको दक्षिण क्षेत्रमा गरिबहरुको बसोबास छ। सो क्षेत्रमा ७० लाख भन्दा बढी मानिस बस्दै आएका छन्।
कोलम्बियामा हालसम्म कोरोना भाइरसका कारण १४४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३२ सय ३३ रहेको छ।