अमेरिकामा कोरोना संक्रमित संख्या मात्र हैन, मृतक संख्यामा पनि ठूलो मात्रामा कमी आएको छ। विहीबार २,१७४ अमेरिकीको मृत्यु भएको छ भने २९,५६७ नयाँ संक्रमितको पहिचान भएको छ। यो प्रिय समाचारसँगै अमेरिकी जनतामा एक किसिमको कोरोनाविरूद्ध उच्च मनोबल बिकास भएको संकेत गरेको छ।
बुधबार कीर्तिमानी संख्यामा अमेरिकीको कोरोनाबाट मृत्यु भएको थयो भने संक्रमित संख्या पनि अत्यासलाग्दो थियो। विभिन्न स्रोतमध्ये वर्ल्डोमिटरले बुधबार २,६१८ को मत्यु भएको र ३०,३४२ संक्रमित भएको जनाएको थियो।
अमेरिकामा बिहीबार कोरोना संक्रमित र मृतक दुबैको संख्यामा उल्लेखनीय गिरावट आएको छ। बुधबार बनेकौ कीर्तिमानी मृत्यु ग्राफ थोरै ओर्लिएको छ भने संक्रमित संख्याको ग्राफ पनि खुम्चिएको छ। यो प्रिय खबरले अमेरिकालाई सानो भए पनि खुशी र सन्तोषको श्वास फेर्नै मौका दिएको छ।
हिजो न्युयोर्कमा ८८८ को मृत्यु भएकोमा आज त्यहाँ ६०६ को मात्र मृत्यु भएको छ। अमेरिकाको कोरोना इपिसेन्टर भएको न्युयोर्कमा ओरालो लागेको यो मृत्युग्राफबाट धेरैले सन्तोषको श्वास फेर्न पाएका छन्।
अमेरिकामा कोरोना संक्रमितको कूल संख्या ६७७,५७० पुगेको छ भने मृतकको संख्या ३४,६१७ पुगेको छ।
यसैबीच अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनासम्बन्धित नयाँ निर्देशिका जारी गरेका छन्। उनले तीन चरणमा अमेरिका खुल्ला गर्ने नीति अगाडि सारेका छन्। विहीबार ह्वाइट हाउसमा आयोजित प्रेस व्रिफिङमार्फ्त उनले नयाँ निर्देशिका जारी गरेका हुन्।
उनको यो नीतिलाई लिएर अमेरिकामा मिश्रित प्रतिक्रिया मिलेको छ । केहीले यो निर्णयको स्वागत गरेका छन भने केहीले खुल्ला गर्ने नीति अति छिटै भएको भन्दै आत्मघाती हुनसक्ने भनेर चिन्ता व्यक्त गरेका छन्।