मुख्यमन्त्री पौडेलले भने- 'लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक'

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्। भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने उनको भनाइ थियो। भाइरस फैलिन नदिन पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भने, 'लकडाउनको पालना सबैले गर्नुपर्छ।'

मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिँदै केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतीक्षा नगर्न अनुरोध गरे। 

पालिकामा भएको बजेट खर्च गर्नुपर्ने भन्दै उनले भने, 'स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो।' स्थानीय निकायको कोषमा भएको रकम खर्च गर्दा पारदर्शिता अपनाउनुपर्ने उनको भनाइ थियो।
 
पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे। 'राहत अतिआवश्यक भएकाका लागि मात्र हुनुपर्नेमा लकडाउन शुरु भएदेखि नै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत होइन', उनले भने, 'कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले माहामारी अवस्था आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गर्नुपर्छ।'
 
 

प्रकाशित मिति: : 2020-04-16 16:27:21

प्रतिकृया दिनुहोस्