वैशाख लागनु अघि चैत सकिन्या हो
कलीका कुकर्मी चाला के के देखिन्या हो
यतिखेर आँखा नजिकै छ गाउँ। गाउँमै छु म। बोटवृक्ष सबैमा नयाँ पलुवा पलाएका छन् मानौ तिनले पनि नयाँ लुगा लगाए। हरियाली धर्ती,वनजंगलतिर फूल फुलेका छन्। जवानी फेरे जस्तो देखिदैछ धर्ती। नधेरै गर्मी छ, न त जाडो नै। निकै नै लोभिएर बडा प्रेमपूर्वक हेर्दै गरेजस्तो लाग्छ सूर्यले धर्तीतिर। रुखका डालीमा बसेर उसैगरी बोलिरहेका छन् कोइलीहरू। विगतमा नापेका गोरेटा तिनै हुन्। गाउँमा सडक पुगेपछि खासै बिछ्याउँदैनन् कसैले ती गोरेटाहरूमा पाइला। इतिहास बन्दै गइरहेका छन् विगतमा यात्रा गरेका ती बाटाहरू। हेरेको आकाश उही हो, उस्तै छ। जो गड्गडाउँछ बेलाबखत उसैगरी। कहिले काँही चल्छ हावाहूरी। खोलानाला सेतीका छाल उस्तै छन्। त्यतिखेर र अहिलेको हेर्ने मनन् गर्ने र सोच्ने क्षमतामा परिवर्तन भएको छ। गाउँ वस्ती परिवर्तित छ। रातो माटो र कमेरोले पोतिने घरका भित्तामा बिस्तारै चुनाको लेपन लगाईदैछ। सफेद बनाइँदै छ। किसिम किसिमका रंगले टल्काइदै छ। बच्नु पर्ने कुरा सिद्धिदैछन्। सिद्धिनु पर्ने कुरा बचेकै छन्। त्यतिखेरका बुढापाका कैयौंले छोडिसके धर्ती। भरखर जन्मिएका र जन्मिने तरखरमा रहेका पाइलाहरू समेत भइसके परदेशी। अधिकांश गाउँ निरीह प्राय देखिन्छन्। उसो त सबै कुरा हुँदा हुँदै पनि आफैमा निरिह प्राणि हो मान्छे। सुविधाको भोको मान्छेले छोड्दैछ पाहाडका गाउँ वस्ती, नाप्दै छ तराईका फाँटमा पाइला। दौडिरहेकै छ पैसाको पछाडी।
मान्छेमा मानवता मर्दै गइरहेको यो पल, सम्झिरहन्छिन् देउसरा उनै पुराना दिनहरू। ती प्रेमिल वसन्तहरू। गाउँमा बाडिचुडी खाने संस्कार। डेउडा गीतका भाकाहरू। बिसुँमा सिस्नु लगाउँदाको रमिता। कम्ता रमाइला थिएनन् जवानीका ती दिनहरू। त्यसैले त बेलाबखत सुनाउछिन् उनी – ‘ती दिन, रामडा थिए कि ततिबेलाको वैस रामडो हो गुसाई।’ उनको प्रश्नमा धेरैबेर नअल्झिएर भनिदिन्छु म– ‘दुबै रामडा थिए।’ उनी खोलामा माछा मारेकोदेखि वनपाखामा गाईवस्तु चराएका अनेकौ प्रसंग निकालिरहन्छिन् भेटमा। सम्झाइरहन्छिन् विगत।
समाजको थिचोमिचो र छुवाछुतका डरलाग्दा पर्खालहरू अग्लिरहँदाको त्यो समयमा पनि आफ्नै मन मर्जीको जिन्दगी बाँचिन् कतिपय देउसराहरू। अहिले पनि कसैले पुराना दिनका डेउडा गीत, मेलापात अनि चाडपर्वका कुरा सुनायो याद दिलायो भने मख्ख पर्छिन् उनी। अतीतको स्मृतिका बारेमा डा.डी.पी. भण्डारीले उल्लेख गरेका पंक्ती सम्झिन मन लाग्छ यतिखेर। ‘‘अतीतको स्मृति मनुष्यको लागि एक स्वभाविक आकर्षण हो। शुष्कतर्कप्रेमीहरू भन्लान मृत समयको सम्झना गरेर के फाइदा ? तर ह्दय मान्दैन फर्कीफर्की अतीततिर नै जान चाहन्छ। त्यहाँ अवश्य पनि केही रहस्य छ। बस्तुतः ह्दयको लागि अतीत एक मुक्तिलोक हो जहाँ ऊ हरेक प्रकारका बन्धनबाट मुक्तिको अनुभव गर्दछ। अतीत कल्पनाको लोक पनि हो एक प्रकारको स्वप्नलोक।’ डा. भण्डारीले भनेझैं पुराना दिनहरू सम्झिदा अर्कै लोकमा पुगे जस्तो हुन्छ रे उनलाई पनि। एक्लै बस्दा त झन बढी आउछ रे विगतको याद। कुनै हैकमवादी मान्छेले मान्छे माथि नै शासन गरेझैं शासन गरिदिन्छ विगतको यादले बेलाबखत। जिन्दगी एक सरिता न हो जो बगिरन्छ निरन्तर। यही बगाइका क्रममा आइदिन्छ भेल बनेर विगत पनि।
यतिखेर सरकारका ठेकेदारहरू यो देशका शासकहरूको जीवन उजाड पहाड जस्तो लाग्छ उनलाई। जो बग्न जान्दैनन्। पग्लिन जान्दैनन्। हराभरा भएर अरुलाई आनन्द दिन सक्दैनन्। डस त्रास लाज सरम सबै पचाएका जन्तुहरू पग्लिदैनन् पनि। त्यस्ता ती सास भएर पनि निर्जीव जस्ता लाग्ने संवेदनाशून्य कुकर्मीहरूले नै जनता, व्यवस्था र देशलाई समेत खोक्रो बनाइदिन्छन्। कोरोना त्रास बढेकै छ गाउँघरतिर पनि। तर लकडाउन जस्तो लकडाउन छैन। कामकाजको मौसम गहुँ काट्ने र भित्र्याउने चटारो छ गाउँघरमा। कसैले कुरा गरेको सुनिछन् देसराले पनि –‘सरकारका मन्त्रीहरूले बिमारीको औषधि किन्दा समेत गरिदिएछन् घोटाला।’ यो कुरा सुनेर सोधेकी थिइन उनले मलाई – ‘मान्स केलाई चुपचाप छन् ?’ मैले उही चलनचल्तिको काम चलाउ उत्तर दिए –‘यहाँ यस्तै हो देउसरा।’
बसन्ती बतास पनि जासुसी गर्न आएजस्तो मात्रै लाग्छ रे उनलाई। घारका मौरीहरूसँग कुरा गर्न मन लाग्छ रे तर भाषाको समस्याले सक्दैनन् उनीहरू सम्बाद गर्न। तै पनि हेरिरहन्छिन् आलोपालो उडिरहने घारका माहुरीलाई। कलियुग सकिन थाल्यो भन्ने एकातिर छन्। पृथ्वीको भार कम गर्न प्रकृतिले चालेको कदम ठान्नेहरू अर्कोतिर छन्। मान्छेले बनाएको जीवाणु भन्ने हल्ला पनि उत्तिकै व्यापक छ बजारमा। अनि परमेश्वर यशुलाई जप्नोस् कोरना लाग्दैन,यशुले यस्ता रोगव्याध सबैलाई ठेगान लगाइदिन्छन् भनेर सोझासाझालाई भुमरीमा पार्ने कट्ट पंथी धर्मका ठेकेदारहरूको तमासा देखि ठुल्ठुला शक्ति राष्ट्रको छटपटाहट र त्रास हेर्नलायक छ। यतिखेर कोरोनाले छोडेको छैन कसैलाई। गरेन उसले रंगभेद, वर्गभेद, छुवाछुत। मान्छे एकोहोरो टोलाइरहेछ। मान्छे सँगै चुपचाप छ गाउँ,सहर र राष्ट्र। स्तब्ध छन् झ्यालबाट हेरिरहने मनहरू। निदाएका छन् सडकहरू। मान्छेको विषम परिस्थिति देखेर विरह पोखिरहे जस्तो। दुखमा साथ दिइरहे जस्तो। मात्र गाइरहेछ कोयली। सोधिरहेकी छ के भो भनेर। तर पनि छोड्दैन मान्छे घुष खान। यहाँ न सरकार छ, न त छ प्रतिपक्ष। यहाँ छ त केवल लुटपाट, गुन्डागर्दी। मानवता मर्दै गएको छ। दिनप्रतिदिन बढिरहेकै छन् ढुगांका मन भएकाहरू। देउसराले यी सबै कुरा मनन् गरिहुनन् एक्लै बसेर। सीमामा अड्किरहेका आफन्तहरूलाई सम्झिहोलिन्। हिजो द्वन्द्वकालमा देखेका सपनाहरू सम्झिहोलिन्। सहिदको रगत सम्झिहोलिन् रत बिसुँ कसरी मनायौं देउसरा भन्दा सजिलै सँग निकै मार्मिक पंक्ति भनिदिइन् – ‘चैत मात्तर गयो गोसाई बिसुँ आएइन।’ हिजो मात्रै पत्रकार बैनी देवकी विष्टले तयार पारेको पशुपतिमा मजदुरहरूको कथा सम्बन्धी छोटो भिडियो हेरेको थिएँ। त्यसले पनि भावुक तुल्याएको थियो मनलाई। आज देउसराले निकै नै भावुक बनाइन्।
साच्चै भन्ने हो भने सुदूरपश्चिमेलीका घरदैलोमा आइपुगेको बिसुँ पर्वमा थिएन कुनै उल्लास। अरु वर्षझैं आइपुगेनन् लाहुरेका पाइलाहरू आँगनमा। देखिएन सिस्नु हानाहान गरेको पनि। एक समय थियो संचारको बिकास नहुँदा परदेशीको खवर थाहा पाउन अगेनामा नूनको ढिका राख्ने। त्यो नूनको ढिका पड्क्यो भने सञ्चै छ जिउँदै छ भी ठान्ने र फुसफुस गरेर पग्लियो भने उसको जिन्दगीप्रति शंका उत्पन्न भैदिने। अहिले संचारको बिकासले हातहातमा मोबाल छन्। साँझ बिहान गाउँघरतिर मोवाइलका घन्टी बज्छन्। तर पनि कैयौं आमाहरू परदेशी छोराको चिन्ताले निन्याउरा देखिएकै छन्।
वैशाख नलाग्दै सुनएकी थिइन् देउसराले शिरानीका डेउडा गीतका पंक्ती। आज वैशाखको ३ गते भैसक्यो। तर, देउसराहरूको मनको बिसुँ पर्व आएको छैन, वैशाख आएको छैन्। महाकाली पारि थुनिएका हजारौं नेपालीहरूको वैशाख आएको छैन्। वैसाश त उनकै लागि आउछ जो जनताले खान नपाइरहेको, डर त्रास फैलिरहेको परिस्थितिमा कौसीमा बसेर मासु पकाइरहेका हुन्छन्। गरिव असहायको लागि ल्याइएको औषधिमा कमिसन खान्छन्। कारमा घुम्दै तीन हजारको सामानलाई पन्ध्र हजारमा बेच्दै हिँड्छन्। अनि जो आफुलाई ठुलै हुँ ठान्छन् तर जनता सामु अनुहारसम्म देखाउँदैनन्।
दुःखी, गरिव र सिमान्तकृतका लागि अझै आएको छैन् बिसुँ। आएको छैन वैशाख, आएको छैन कुनै बिसुँ, कुनै नयाँवर्ष। उनीहरूको जिन्दगी बनेकै छ दुःख र संघर्षको यात्रा। जो यतिखेर झन अप्ठेरो गोरेटोमा अड्केको छ। दिनप्रतिदिन मान्छेका कुकर्म देखेर बढिरहेछ देउसराहरूमा आशङ्का।