भारतमा कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४२२ पुग्याे, १७० जिल्ला रातो घेरामा

भारतमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ३७० पुगेको छ भने ४२२ जनाको ज्यान गएको छ।

महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का ११७ जना संक्रमित थपिएका छन्। योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको स्वास्थ्य विभागले जनाएको छ।
 
महाराष्ट्रपछि नयाँ दिल्लीमा ६६, पुणेमा र ४४ संक्रमित भेटिएका छन्। मुम्बाई अस्पतालका १० जना सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ। यसपछि भारतभरी ३५ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन्।

यसका साथै  तमिलनाडु, राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढलगायतका राज्यहरुमा पनि कोरोनाका संक्रमितहरु भेटिएका छन्।

भारतमा १ हजार ३०६ जना उपचारपछि घर फर्किएका छन्।

१७० जिल्ला रातो घेरामा

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम भएका १७० जिल्ला पहिचान गरेको छ।

त्यस्तै २०७ जिल्लालाई संक्रमणको सम्भावित जोखिम भएको जिल्लाका रुपमा पहिचान गरेको छ।

राज्यहरुलाई जोखिमका आधारमा जिल्लाहरु तीन वर्गमा छुट्याउन लगाइएको स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले जानकारी दिएका छन्।

उच्च संक्रमण पाइएको जिल्लालाई निषेधित क्षेत्र, थोरै संक्रमण देखिएको जिल्लालाई जोखिम पहिचान जिल्ला र कुनै संक्रमित नभेटिएको जिल्लालाई ग्रीन जोन मानिएको उनले बताए।

बुधबार क्याबिनेट सचिव, प्रमुख सचिव, डिजिपी, स्वास्थ सचिव, कलेक्टर, एसपी, नगरपालिका आयुक्त र मुख्यमन्त्री अधिकारीहरुको भिडियो सम्मेलनमा संक्रमित क्षेत्र वर्गबारे छलफल गरेका थिए।

‘सबै अधिकारीहरुलाई संक्रमण प्रकोप रणनीती, ती क्षेत्रबारे छलफलसँगै त्यहाँको प्रवेश र निकास विन्दुहरु बारे छलफल गरियो’, सहसचिव अग्रवालले भने।

उच्च जोखिम भएका क्षेत्रमा अत्यावश्यक सामाग्रीका लागि बाहेक चहलपहल गर्न निषेध छ। अग्रवालका अनुसार यी क्षेत्रको अनुगमन र प्रत्येक घरलाई ट्र्याक गर्न विशेष टोली खटाइनेछ।
 

प्रकाशित मिति: : 2020-04-16 08:08:50

प्रतिकृया दिनुहोस्