सरकारी कोषबाट प्रदान गरिने चेकमा राष्ट्रपति ट्रम्पको नाम प्रिन्ट !

बिएल संवाददाता

न्युयाेर्क

कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्यासँग जुधिरहेका दशौँ लाख अमेरिकीलाई सरकारी कोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रिन्ट हुने भएको छ।

गएको मार्चमा अमेरिकी कंग्रेसले कोरोना भाइरसबाट प्रभावित क्षेत्र तथा व्यक्तिहरुका लागि ल्याएको दुई ट्रिलियन डलर बराबरको आर्थिक सहायता प्याकेज अन्तर्गत नै अमेरिकीलाई सहयोग रकमको चेक दिन लागिएको हो। गएको महिना मात्रै एक करोड ६० लाख मानिसले जागिर गुमाएका छन्।

अमेरिकाको इतिहासमा संघीय सरकारले प्रदान गर्ने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाम उल्लेख हुन लागेको यो पहिलो पटक हो। वित्त अधिकारीले ट्रम्पको नाम चेकमा उल्लेख गर्ने निर्णयका कारण सहयोग रकमको चेक सम्बन्धित नागरिकसम्म पुर्‍याउन ढिला हुने अभियोग अस्वीकार गरेका छन्।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा बुधबार सहायता रकमको चेकमा उनको नाम किन आउन लागेको भनेर सोध्दा ट्रम्पले ‘यसबारे मलाई त्यति धेरै थाहा छैन’ भनेका छन्। उनले भनेका छन्, ‘तर मानिसहरु पक्कै खुशी हुने छन् कि मेरो नामसहितको चेक प्राप्त गर्दा।’

आफ्नो नाम चेकमा राख्ने निर्णयका कारण कुनै पनि कुरा ढिला नभएको पनि उनले दाबी गरेका छन्। ८ करोड भन्दा बढी अमेरिकीले सरकारी कोषबाट १२ सय डलरसम्म आफ्नो बैंक खातामा प्राप्त गर्न थालेका छन्। तर बैंकको विवरण उपलब्ध नगराउनेहरुलाई भने ट्रम्पको नामसहितको चेक प्रदान गरिने छ।

चेकमा ट्रम्पको नाम उल्लेख गर्ने र त्यहि कारण वितरणमा ढिलाई भएको खबर प्रकाशित गरेको थियो। चेकमा ट्रम्पको नाम उल्लेख गर्ने निर्णय सरासर असंवैधानिक रहेको विज्ञले बताएका छन्।

प्रकाशित मिति: : 2020-04-16 07:39:49

प्रतिकृया दिनुहोस्