केही राज्यहरु यही महिनादेखि पुनः खुल्नेछ : डोनाल्ड ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन्। उनले अब केही राज्यहरु यही महिनादेखि पुनः खुलाउन थाल्ने बताएका छन्।

महामारीका कारण सिर्जित संकटको माथिल्लो तह अमेरिकाले देखिसकेकाले केही राज्यहरु यहि महिना (अप्रिल) मै खुला हुने दाबी पनि उनले गरेका छन्। कोरोना भाइरसको महामारी फैलिएका कारण अमेरिकाका अधिकांश राज्य अहिले लकडाउनको अवस्थामा छन्।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु फेरि खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग कुरा गरेपछि बिहीबार घोषणा गर्ने बताएका छन्। त्यसअघि राज्यका गभर्नरसँग आफूले कुरा गर्ने ट्रम्पले उल्लेख गरे।

ट्रम्पले भनेका छन्, ‘हामी चाँडै फर्किँदै छौँ, हामी सबै। हामी हाम्रो देशलाई पुनः सामान्य अवस्थामा ल्याउन चाहन्छौँ।’

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट २८ हजार ३६४ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या ६ लाख ३७ हजार भन्दा बढी पुगेको छ।

‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन्। ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन्। ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ’ उनले भनेका छन्।

ट्रम्प प्रशासनले आउँदो मे १ मा लकडाउन अन्त्य गर्ने तयारी गरेको थियो, तर केही राज्यहरु त्यो भन्दा अघि नै खुल्न सक्ने बुधबार ट्रम्पले बताएका हुन्।  ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-04-16 07:24:08

प्रतिकृया दिनुहोस्