सबै मन्त्रीहरुले एकपटक कोरोना जाँच गरे राम्रो हुन्छ : पर्यटनमन्त्री योगेश भट्टराई

देशमा कोरोना भाइरसका बिरामी थपिइरहँदा सरकारका मन्त्रीहरुसमेत कतै संक्रमित त भइएन भनेर डराउन थालेका छन् । 

मन्त्रीहरु आपसमा भेटघाट हुँदा समेत एकपटक सबैको टेस्ट गरे राम्रो हुने बताउन थालेका छन्। विशेषगरी अर्थमन्त्री डा. युवराज खतिवडा खतिवडाका जेठा छोरा तिलक बस्ने सनसिटी अपार्र्टमेन्टमा कोरोना संक्रमित व्यक्ति भेटिएका र उनी पनि त्यहाँ गएको भन्ने समाचारले मन्त्रीहरुको मनमा चिसो पसेको हुनसक्छ तर कोही पनि मन्त्री यसै कारण कोरोना टेस्ट गरौँ भनेर खुल्न चाहँदैनन्। 

हिजो मात्र मन्त्रिपरिषद्को बैठक बसेको थियो। त्यहाँ पनि अर्थमन्त्री खतिवडा सहभागी थिए। आज पनि उनी सिंहदरबारमै थिए। मन्त्रीहरुसँगको भेटघाटमै थिए। आजै सिंहदरबारमा मन्त्रीहरुसँगको भेटघाटमा पर्यटनमन्त्री योगेश भट्टराईले सबै मन्त्रीको कोरोना टेस्ट गर्दा राम्रै हुने बताएका थिए ।

पर्यटनमन्त्री भट्टराईले अर्थमन्त्री खतिवडाकै समाचार पढेर वा उहाँकै कारण आफूलगायत कोही पनि मन्त्रीले सबैको काेराेना जाँच गरौँ भनेकाे भन्ने अर्थ नलगाउन आग्रह गरे तर संसारभरि महामारी फैलिएको र नेपालमा समेत देखिइसकेका कारण एकपटक सबै मन्त्रीको कोरोना परीक्षण गरेर ढुक्क भएर बस्न उचित हुने उनको धारणा छ । 

बिएल नेपाली सेवासँगको संक्षिप्त कुराकानीमा पर्यटनमन्त्री भट्टराईले भने, 'एकपटक सबै मन्त्रीहरुले कोरोनाको जाँच गराउँदा स्वास्थ्यको हिसाबले राम्रो हुन्छ भन्ने मलाई लाग्छ। मैले त यो अरु मन्त्रीजीहरुसँग प्रस्ताव पनि गरिसकेको छु। सबैको स्वास्थ्यका हिसाबले यो राम्रो हाे।'

प्रकाशित मिति: : 2020-04-15 21:16:17

प्रतिकृया दिनुहोस्