तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई -यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
सोमबार र मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
'छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडिटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको छ' उनले भने, 'आरडिटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ।' रिर्पोट पोजिटिभ आए स्वाब सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको उनले बताए।
'बिहीबार सम्ममा जिल्लामा -यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ' उनले भने, 'जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन्।'
शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
'भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडिटी किटबाट कोरोना परीक्षण गर्नेछ' प्रमुख अधिकारीले भन्छन्, 'घरमा तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर चौध दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटबाट परीक्षण गर्नेछ।'