सामाजिक सञ्जाल फेसबुकमा कोभिड-१९ बारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्य रहेका छन्।
फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेपछि उनलाई मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो। पक्राउ परेका उनलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए।
त्यस्तै अर्को ‘लेकबेँसी नगरपालिका वडा नं १ मा बस्ने प्रेम विवशलाई पनि प्रहरीले खोजिरहेका छन्। उनले सोहि वडामा बस्ने एक जनामा कोरोना देखियो भनी फेसबुकमा पोष्ट गरेका थिए। कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यको भनाइ छ।