कोरोना संक्रमित भेटिएपछि राजधानीमा थप कडाइ, दुई घण्टामा समातिए २ हजार

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंमा कोरोना संक्रमित भेटिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ। 

जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उल्लघंन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र २ घण्टासम्म होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ। 

लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बताए। यस्तै राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको छ।

‘नाकामा चेकजाँच कडा पारिएको छ। यस्तै सुरक्षाकर्मीको सदासयताको दुरुपयोग गर्दै लकडाउन उल्लघंन गर्ने प्रवृत्ति बढेकोले त्यसलाई निरुत्साहन गर्न गस्तीलाई थप कडा बनाइएका छौं,’ डिआइजी पोखरेलले भने। उनका अनुसार उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

बुधबार बिहान मात्र लकडाउनको पालना नगर्ने २ हजार ३८ जनालाई कारवाहीस्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको उनले बताए । खासगरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको डिआइजी पोखरेलको भनाइ छ। 

उपत्यकाका मुख्यमुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर , कालिमाटी , कलंकी , गौशाला , चाबहिल लगायतबाट लकडाउन उलंघन गर्ने समातिएका हुन्। अन्य दिनमा दिनभरमा हजारदेखि १५ सय समातिने गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-04-15 10:13:37

प्रतिकृया दिनुहोस्