सांसद् विकासको कोषको करिब १० अर्ब रुपैयाँ कोरोना कोषमा पठाउने निर्णय

संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरुले संघीय संसद्को १६५ वटा निर्वाचन क्षेत्रको सांसद विकास कोषको रकम सरकारको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभाका संसदीय सचेतक पुष्पा भुसालले दिएको जानकारीअनुसार, चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्षमा सो शीर्षकमा विनियोजन हुने रकम सो कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले गरेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसद् विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने निर्णय सुझाव आएको थियो । करिब पाँच घन्टा चलेको बैठकमा यस्तो सहमति भएको हो । यो रकम करिब १० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । 

कार्यव्यवस्था परामर्श समितिको मंगलबार भएको बैठकमा प्रतिनिधिसभाका विभिन्न दलका प्रमुख सचेतकहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका थिए ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानननीय सभामुखज्यूले सातवटै प्रदेशका माननीय सभामुख र माननीय उपसभामुखहरुसँग गर्नुभएको छलफल तथा कार्यव्यवस्था परामर्श समितिका माननीय सदस्यहरुबाट प्राप्त सुझावहरुको कार्यान्वयन गर्न नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भयो।’ 

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रलाई चालु आर्थिक वर्षमा ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरिएको थियो  । त्यस्तै सांसद्को १ महिनाको तलब पनि राहत कोषमा जम्मा गर्ने निर्णय भएको भुसालले बताइन् । 
 

प्रकाशित मिति: : 2020-04-14 19:26:55

प्रतिकृया दिनुहोस्