डा. भट्टराईको प्रश्न– तलब नलिने घोषणा गर्नेहरुकाे विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ ?

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले, तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सहभारवहन सबैले मिलेर गर्नुपर्ने भन्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका थिए।

मंगलबार पूर्वप्रधानमन्त्री भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भनेका छन्। सँगसँगै उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !)को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?

जनस्तरबाट पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र निर्वाचन क्षेत्र विकास कोषबाट रकम काटेर कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने आवाज उठ्दै आएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन्।

सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए। 

प्रकाशित मिति: : 2020-04-14 09:56:41

प्रतिकृया दिनुहोस्