लकडाउन ७ देखि १० दिन लम्ब्याउने तयारी, निर्णय गर्दै सरकार

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस रोकथामका लागि सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने जनाइएको छ।

मन्त्रिपरिषदको बैठक मंगलबार बिहान ११ बजेपछि बस्ने छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।

तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ। त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो।

‘कम्तिमा ७ देखि १० दिन थप हुनसक्छ,’ एक मन्त्रीले बिएल नेपाली सेवा  सँग भने,‘ पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ।’

यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा अझै केही साता कष्टपूर्ण हुन सक्ने बताएका थिए। उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

काठमाडौं उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिन लागेको हो।

सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियाे कन्फरेन्स गरेका थिए। त्यस क्रममा सातै प्रदेशका मुख्यमन्त्रीले लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भारतीय सीमानामा कडाइ गर्नुपर्ने मागसमेत राखेका थिए।

 भारतसँग खुला सीमाना रहेकाले नेपालका लागि त्यहाँ कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सीमा बन्द गर्नुको विकल्प नरहेको विज्ञहरूले जनाएका छन्।

भारतमा पनि तीन साताका लागि गरिएको लकडाउन अवधि मंगलबार सकिँदैछ। भारतका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लकडाउन अवधि थप्नुपर्ने सुझाव दिएका छन्।

भारतमा कोरोनाबाट सबभन्दा धेरै प्रभावित महाराष्ट्र राज्यले अप्रिल ३० सम्म लकडाउन बढाउने घोषणा गरिसकेको छ। प्रधानमन्त्री मोदीले मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने र त्यही सम्बोधनमार्फत् लकडाउन लम्ब्याउने घोषणा गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2020-04-14 08:27:25

प्रतिकृया दिनुहोस्