प्युठान अस्पताल बिजुवारमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ।
सरकारले कोभिड–१९ को जोखिमबाट बच्नका लागि गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए।
चिकित्सकका अनुसार मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका हुन्।
'बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको छ', घिमिरेले भने, 'स्वास्थ्य संस्थामा भाइरल ज्वरोको उपचारका लागि दैनिक ६० बिरामी अस्पतालमा आउने गरेको छ।' दैनिक बहिरङ्गमामा ४० र आकष्मिक कक्षमा २० जनासम्म बिरामी आउने गरेको उनको भनाइ छ।
सामान्य समयभन्दा बिरामीको संख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको संख्या भने कम रहेको उनले बताए।
'जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ' उनले भने, 'रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस संक्रमणको आशंका भए आइसोलेशनमा राख्ने गरिएको छ।'
हालसम्म यस्ता बिरामी नआएको र कोरोना संक्रमणका बिरामी राख्न चार आइसोलेशन शय्या तयारी अवस्थामा राखेको अस्पतालले जनाएको छ ।