सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनमा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा कोरोना भारइस संक्रमणको आशंका गरिएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी)बाट परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएपछि अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीसहित परिवारका सबैलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनुसार आरडीटी टेष्टमा पोजिटिभ आएका तीन जनालाई पाटन अस्पतालमा लगिएको र पीसीआर जाँचका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार उनीहरूमा आरडिटीको नतिजा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर र पिसिआरका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
स्रोतका अनुसार उक्त परिवार गत चैत ५ गते लण्डनबाट कतार एयरवेजको विमानबाट काठमाडौं आएको थियो। 

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार उनीहरू नेपाल आइसकेपछि नक्साल क्षेत्रमा रहेका आफन्तकोमा समेत गएका थिए। 

तीन जना आशंकितलाई अस्पताल लगिएसँगै प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको उनले बताए।

‘अपार्टमेन्ट १७ सय जना बस्नुहुन्छ। भित्र भएका उहाँहरुलाई अहिले बाहिर निस्कन दिएका छैनौं र बाहिर भएकालाई पनि भित्र पस्न दिएका छैनौं,’ डीआईजी पोखरेलले भने।

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुने विज्ञहरुले यसअघि नै बताइसकेका छन्।

यसअघि कोरोनाको द्रूत परीक्षण अर्थात् र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मै पोजेटिभ देखिएका बागलुङका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।   

आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थियो। स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गैरौंले जानकारी दिए।

यसअघि नेपालमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। सोमबार मात्र कैलाली र रौतहटका एक एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

आइतबार वीरगञ्जका ३ जनामा यो भाइरस संक्रमणको पुष्टि भएको थियो। योसँगै पछिल्लो दुई दिनमा नेपालमा ५ जनामा कोरोको संक्रमण भेटिएको छ। 

यसअघि नै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको थियो। नेपालमा संक्रमित भेटिएका एक जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-04-13 18:52:40

प्रतिकृया दिनुहोस्