श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टि जलाएर गर्नुपर्ने नियम ल्याइएको छ।
अल्पसंख्यक मुसलमानहरुले विरोध जनाए पनि श्रीलंकाली सरकारले जुनसुकै धर्मको भए पनि यो निर्णय लागु हुने व्यवस्था गरेको हो।
कोरोना भाइरसको संक्रमण नियन्त्रणको उपायअन्तर्गत यो नियमलाई अघि सारेको बीबीसी हिन्दीले जनाएको छ।
श्रीलंकाका स्वास्थ्य मन्त्री पवित्रा वाणिअराचछीले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका र आशंकितको मृत्यु भएमा अनिवार्य शव जलाइने बताइन्।
श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। जसमा तीन जना मुसलमान थिए। उनीहरुको शव पनि जलाइएको छ। यद्यपि परिवारका सदस्यले जलाउन मानेका थिएनन्।
यद्यपि विश्व स्वास्थ्य संगठनले भने संक्रमितको मृत्युपछि शव जलाउन वा खाल्डोमा पुर्न दुबै मिल्ने बताएको छ। कोरोनाबाट श्रीलंकामा दुई सय भन्दा बढी संक्रमित छन्। संक्रमण रोक्न कर्फ्यू लगाइएको छ।