कोरोना भाइरस (कोभिड—१९) को विश्वब्यापी माहामारी अझै चरम उत्कर्षमा पुगिसकेको छैन भन्ने यसको अध्ययन गरिरहेका ज्ञाताले औंल्याइरहेका छन्। यद्यपि यसले विश्वका २०९ देशलाई आफ्नो पकडमा लिइसकेको छ। विश्वभर भयंकर ठूलो भयावह मृत्युको सन्त्राससमेत फैलाइरहेको छ यो भस्मासुर भाइरसले सारा संसालाई निल्ने जस्तो गरेर यो फैलिरहेको छ।
तर विश्वका रक्षा तथा कूटनीतिक विशेषज्ञले कोरोना भाइरसको महामारी पछिको संसार कस्तो हुने भन्ने विषयमा आ-आफ्नो विश्लेषण शुरू गरिसकेका छन्।
खासगरी पश्चिमा देशका अनुसन्धान संस्थानहरू, थिंकट्याङ्क र विश्वविद्यालयमा कोरोनाका साथै जलवायु परिवर्तन जस्ता ठूलो खतराका तत्कालीन र दूरगामी परिणाममाथि अहिलेदेखि नै गहन चिन्तन शुरू हुन थालेको देखिन्छ।
यस सन्दर्भमा ती विशेषज्ञो मान्यता के देखिन्छ भने पहिलाको समुद्ररुपी विश्वमा करीब २०० देश बेग्ला बेग्लै नाउको रूपमा विचरण गर्दथे । तर आजको संसारमा यी सबै देशहरू एउटै जलयानको बेग्ला बेग्लै क्याबिनको रूपमा रहेका छन् र विचरण गर्छन्।
ती हरेक क्याबिनको चिन्ता र चासो लिने तथा तिनको ब्यवस्थापन गर्ने मानिसहरू छन्। तर यो सिङ्गो जहाजको चिन्ता गर्ने कुनै क्याप्टेन भने छैन। अहिलेको कोरोना महामारीको सम्बन्धमा यो विश्लेषण सही साबित हुँदैछ।
झण्डै एक सय जति दिन पहिला जब मध्य चीनको हुवेई प्रान्तको वुहानमा यो संक्रमणकारी भाइरसको पहिला घटना प्रकट भएको थियो। त्यसबेला पूरै संसारमा खतराको घण्टी बज्न थाल्नुपर्ने थियो। भलै यो महामारीको उपचार गर्ने खोप विकास हुन नपाएको नै किन नहोस्। तर पनि अन्य देशले कमसेकम रोकथामको उपाय गरेर जन हानीलाई धेरै हदसम्म निकै सीमित त अवश्य तुल्याउन सक्ने थिए। तर जब यो संक्रमण चीनबाट पूर्व एशियादेखि यूरोप र यूरोपदेखि जब अमेरिकासम्म पुग्यो तब मात्र यसले बिकराल विश्व महामारीको स्वरुप लिएको अनुमान भयो। विस्तवमा त्यतिबेलासम्म धेरै अबेर भइसकेको थियो।
फलतः आज विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका र त्यहाँको सबैभन्दा समर्थवान राज्य न्यूयोर्क यस महामारीको सामु नराम्रोसँग लाचार जस्तै बनिरहेको छ। न्यू- योर्कका गर्भनरले त यो कुरा उदाङ्गो पारिदिएका छन् कि, यतिबेला त्यहाँ मुखमा लगाउन मास्क र चिकित्सका लागि सुरक्षा गाउन जस्ता अति आवश्यक सुरक्षा साधानहरू पनि छैनन्। अनि स्वास्थ्य सुरक्षाका सामानका लागि अमेरिकाले चीनको मुख ताकिरहनु परेको छ।
स्थिति यस्तोसम्म बनेको छ कि, अमेरिकाका अलग अलग राज्यहरू चीनसँग यस्ता सुरक्षा सामाग्री लिन अहिले होड नै चलाइरहेका देखिन्छन्। जसले गर्दा ती समाग्रीको दाम पनि हेर्दा हेर्दै दश गुणा बढ्न पुगेको छ।
विशेषज्ञका अनुसार यस महामारीले अमेरिकालगायत विश्वका बिभिन्न देशलाई गम्भीरतम् सन्देश दिएको छ कि, भयंकर ठूलो रक्षा बजेट, संसारका विभिन्न भागमा सैनिक अखडा, आधुनिकतम् मिसाईलहरु,परमाणु हतियार तथा अन्य देशमा सैनिक हस्तक्षेपबाट अब कुनै पनि देशहरुको भबिष्य सुरक्षित रहन या हुन सक्तैन।
अमेरिकासँग यी सबै कुरा छन्। तर फेरि पनि अमेरिकाको अर्थब्यवस्था र सामाजिक जीवन आज यो भस्मासुरे भाइरसको कारण नराम्रोसँग लड्खडाउन थालेको छ। यस सन्त्रासमय स्थितिमा आज अमेरिका मात्र होइन, विश्वका विभिन्न देशमा युद्व जस्तो परिस्थिति, युद्वकालका जस्ता शब्दाबलीहरु सरकार वा राष्ट्र प्रमुखबाट प्रयोग हुन थालेका छन्। तर यो युद्व एउटा अदृष्य शत्रुका बिरुद्ध छ, जसलाई बमहरू, ट्यांकहरू र मिसाईलहरुबाट बिल्कुलै हराउन सकिदैन।
मानव कल्याणमा केन्द्रीत र समर्पित चिकित्सा जस्तो पेशासँग जोडिएका बिज्ञ चिकित्साकर्मी नै आजको विश्व वास्तविक योद्धा र जनरल हुन् भन्ने कुरा यतिबेला प्रष्टै देखिएको छ । अनि औषधि र चिकित्सा उपकरण नै विजय हासिल गर्न आवश्यक र आधारभूत उपकरण हुन् भन्ने कुरा पनि अहिले छर्लङ्ग भइससकेको या भइरहेको छ।
विश्वका नेतालाई यो कुरा सोच्न विवश हुनुपर्ने देखिएको छ कि, एक अर्कामा भर परेको विश्वमा बास्तविक चूनौति र खतरा कुनै अन्य देशबाट होइन त्यस विपरीत कोरोना जस्ता महामारी र जलवायु परिवर्तनबाट छ।
अनि कोरोना आगामी दिनमा आउने जलवायु परिवर्तनको ट्रेलर मात्र हो भन्ने पनि विज्ञले औंल्याइरहेका छन्। आज के अत्यन्तै प्रष्ट भइसकेको र भइरहेको छ भने कोरोनाको मार विश्वका बिकसित र सम्पन्न देशहरुमा सबैभन्दा बढी परेको छ। जबकि, आगामी दिनमा हुने जलवायु परिवर्तनबाट अत्याधिक नोक्सानी गरीब र अबिकसित देशलाई सबैभन्दा बढी हुने बिज्ञको आँकलन छ।
अर्कोतिर यो कोरोना भाइरस (कोभिड–१९) मानिसबाट मानिसमा सर्ने अत्यन्तै डरलाग्दो संक्रमणकारी भाइरस भएकोले स्वास्थ्य विज्ञको चेतावनी र बचाउको सही सन्देशको बिपरीत त्यसलाई बेवास्ता गरेर भारतको राजधानी नयाँ दिल्लीमा केही समयअघि निजामुद्दिनमा मुस्लिम धार्मिक सभामा जम्मा भएमा मानिसहरू संक्रमित भए र यो संक्रमण तिनबाट अरुलाई संक्रमण फैलाएको कुराले पनि यतिबेला ठूलो सन्त्रास फैलाएको छ। ती मुस्लिम धर्मगुरूले उचित चिकित्साको सट्टा अल्लाहको भरोसा गर्न उपदेश दिँदै हिँडेका थिए। नेपालका एक जना ईसाई धमाबम्बीले पनि इशुले कोरोनाबाट बचाउने उपदेश दिँदै हिँडेपछि कारबाहीका परेका थिए।
हिन्दू धर्मका ज्ञाता ठान्नेहरुले पनि अरु धर्मलाई होच्याएर यो अर्थात हिन्दू धर्म मानेको भए रोग लाग्ने थिएन भनेर बैमनस्यतालाई पुट दिन खोजेको देखिन्छ। यसरी धार्मिक बैमनस्यताको माहोल खडा गरेर र ढोल पिटेर एक अर्कालाई दोषी ठहराउने शिलसिलाले कोरोना रोक्ने काम गर्दैनथ्यो र गरेन नै।
कोरोना प्रकोपको विश्वब्यापी स्थितिले के कुरा स्पष्ट भइसकेको र भइरहेको छ भने मध्ययुगीन र संकीर्ण मानसिकताबाट २१ औं शताब्दीका समस्या र चूनौतिहरु पटक्कै समाधान हुन सक्तैनन्। यसरी कोरोनाको डढेलो जस्तो फैलिँदा सन्त्रासकारी महामारीले विश्वका नेतृत्वलाई यही शिक्षा दिएको छ कि उनीहरुले विश्वको भावी खतरालाई बुझुन् र त्यसको सही किसिमले सामना गर्न मानव र प्रकृतिमैत्री रणनीति अपनाउन्!
विश्व मानवलाई परस्परमा जोड्ने असल र समानता,मित्रता र सुदृढ एकताको प्रवर्धन गर्ने कुरालाई जोड दिउन्! ‘बसुधैब कुटुम्बकम्’ साझा बाटो नै विश्वको भविष्यको मूलबाटो हुने र हुनु पर्छ। त्यसको निमित्त विश्वमा उपयुर्क्त अर्थरा–जनीतिक एवं सामाजिक–साँस्कृतिक परिवेश र आधार निर्माण गर्नु नै आजको केन्द्रीय र सर्वोपरी कुरा हो। अन्यथा भावी दिनमा डरलाग्दो बिनाश निम्तिने बाहेक अरू केही पनि आशा नगरे हुन्छ।