प्रधानमन्त्रीको घोषणा: कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक लिन्न (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले  आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको बताएका छन्।

‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्री ओलीले भने।

त्यस्तै उनले कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिने बताएका छन् । ‘सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ, सँगसँगै रोजीरोटीको जोहो गरिने छ। सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासंभव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ,’उनले भने।

यस्तै प्रधानमनत्री ओलीले उपचारमा सङ्लग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन नदिने बताए । 

यस्तै उनले रोजगारी गुमाएर बिहान साँझको छाक टार्न कठीन भएका, अपाङ्गताका कारण औषधी लगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा भएका, वृद्धावस्थामा रहेका र विभिन्न हिसाबले असहज अवस्था भोगिरहका बिपन्न र असहायसमक्ष स्थानीय सरकारहरु स्वयं राहत लिएर पुग्ने दाबी गरेका छन्। 

‘अप्ठ्यारोमा पर्नुभएका त्यस्ता व्यक्ति, परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुप्रति आफू संवेदनशील भएको बताएका छन्। विश्वव्यापी सङ्कटको घडीमा आधारभूत सुविधा र उपचार सेवाबाट बञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको बताएका छन्। 

‘कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महत्वपूर्ण हतियार हुन्। आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन। यस घडीमा म सबैसमक्ष विशेष आह्वान गर्न चाहन्छु,’ उनले भनेका छन्।

उनले कोरोना भाइरसक विरुद्ध कठिन लडाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च परिदिन आग्रह समेत गरेका छन्। ‘राष्ट्रिय एकतालाई थप सुदृढ पारौँ र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र सङ्क्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं,’प्रधान्मन्त्री ओलीले भनेका छन्।

प्रकाशित मिति: : 2020-04-13 08:34:28

प्रतिकृया दिनुहोस्