एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा पछिल्ला दिनमा कोरोना प्रकोपबाट देखिएको असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न दुई लाख डलरको कोभिड १९ एक्सपर्ट सहयोग कोषको घोषणा गरेको छ।
कोरोनाका कारण अस्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्नसक्ने तत्कालिन र दिर्घकालीन असर न्यूनिकरणका लागि सहयोग कोषको घोषणा गरिएको एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले जानकारी दिए।
एक्सपर्ट एजुकेशनले आफ्नो ब्यवसायीक र सामाजिक दायित्व पुरा गर्दै आएको सन्दर्भमा यतिखेर अस्ट्रेलियामा अध्यनरत विद्यार्थीको समस्यालाई केही हदसम्म मलम लगाउने प्रयासका लागि यो राहत कोषको स्थापना गरिएको निर्देशक शर्माले बताए।
सम्भवत निजी क्षेत्रबाट सञ्चालित कुनै व्यवसायीक संगठनले कोरोनाको प्रभावपछि विद्यार्थीको हक हितका लागि गरिएको यो पहिलो राहत कोष हो।
‘विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको माहामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्नगइ मानव जगतनै अहिले असहज परिस्थितिबाट गुज्रनु परेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पुरा गरेका हौ’, एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले भने।
विद्यार्थीको दिर्घकालीन समस्या समाधानका लागि एक्सपर्टले सरकारी निकाय, विभिन्न शैक्षीक उद्योग, संघ संस्था र कलेज विश्वविद्यालयसँग नजिक रहेर समूचित ब्यवस्थापनको लागि पैरवी गरिरहेको अर्यालले बताए।
अर्यालले आइतबार राहत कोषको घोषणा गर्दै भनेका छन्, ‘अहिले निकै समस्यामा परेका विद्यार्थीका लागि यस राहत कोषले केही हदसम्म सहयोग पुग्ने विश्वास हामीले लिएका छौं।’
दुई लाख डलर मध्ये एक लाख पचास हजार डलर एक्सपर्ट एजुकेशनमार्फत आएका विद्यार्थीको लागि र बाँकी पचास हजार डलर अन्य नेपाली विद्यार्थीको सहयोग गरिने अर्यालले जानकारी दिए।
पछिल्लो ६ महिना यता अस्ट्रेलियामा उच्च अध्ययनका लागि आएका र रोजगारी नपाएका अनि गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकालाई पनि मूल्याकंनका आधारमा सहयोग गरिने योजना रहेको अर्यालले बताए।
अर्यालले अगाडि भनेका छन्, ‘यो समय एक अर्कामा सहयोग र सद्भाव कायम गर्दै धैर्यतापूर्वक मानवीय भावनाका साथ अगाडि बढनुपर्ने बेला हो। यतिखेर हामी सबैले सरकारी सूचनाको अवलम्बन र कोरोनावाट बच्ने सुरक्षीत उपायहरु अपनाउनु पर्नेहुन्छ।’