न्युयोर्क शहरमा कोरोना भाइरसकाे संक्रमणबाट मर्नेकाे संख्या बढ्न थालेपछि यहाँको टापुमा चिहान बनाउने क्रम पनि बढ्दाे छ।
कोरोना भाइरसकाे पहिलो संक्रमण पुष्टि भएको सातादेखि नै न्युयोर्कमा यसले रफ्तार पकडिएकाे हाे। यो भाइरस अमेरिकामा चीनबाट नभई युरोपका यात्रुहरूबाट प्रवेश गरेकाे अनुसन्धानले देखाएको छ।
न्युयोर्कमा कोरोना भाइरसको पहिलो मुद्धा मार्च १ मा देखापरेको थियो। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट यात्रामा प्रतिबन्ध लगाएका थिए। तर मार्च ११ सम्म युरोपबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका थिएनन्। लगभग एक महिनाको हाराहारीमा न्युयाेर्कमा ८ हजारकाे हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने राज्यको स्वास्थ्य विभागका अनुसार करिब १ लाख ५० हजारभन्दा बढि मानिस संक्रमणकाे शिकार भइसकेका छन्।
यस क्षेत्रमा भाइरसको आनुवंशिकी अध्ययन गरिरहेका वैज्ञानिकको दुई छुट्टै टोली याे निष्कर्षमा पुगेका छ कि, यसकाे व्यापक परीक्षण सुरु हुनुभन्दा अघि नै भाइरस फैलिरहेको थियो र यो प्रायः युरोपबाट आएको हाे, एशियाबाट होइन।
सामान्यतया सातामा करिब २५ वटा शव शहरको सार्वजनिक चिहानमा हार्ट टापुमा गाडिन्छन्। ती शव धेरै जसो या त दावी नभएका वा परिवारहरूले अन्त्येष्टि गर्न नसकेका छन्। हाल याे टापुमा दिनहुँ २५ वटा लास गाड्ने गरिएकाे छ।
नयाँ नीतिअन्तर्गत चिकित्सा परीक्षकको कार्यालयले केवल १४ दिनका लागि शरीर भण्डारमा राख्छ। शहरका अधिकारीले शवकाे मात्रा बढेका कारण व्यस्थापन मिलाउन गाह्राे परिरहेकाे बताएका छन्। शहरले महामारीको कारण मर्नेको संख्या बढ्दै गएपछि यस टापुमा कोरोना भाइरस पीडितको लावारिस लासलाई अस्थायी रूपमा गाड्ने विचार गरिरहेको छ।
एसोसिएटेड प्रेस (एपी)ले बिहीबार लिएको हवाई तस्बिरमा टापुमा सुरक्षात्मक गियर लगाएका चिहान खन्दै गरेका श्रमिक देखिएका थिए।