अमेरिकामा स्टिमुलस चेकको पहिलो लट बैङ्कमा जम्मा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा कोरोना भाइरस प्रभावितलाई दिने भनिएको स्टिमुलस चेकको पहिलो लट बैंकमा जम्मा गरिएको छ। 

अमेरिकी सरकारको आन्तरिक राजश्व सेवा आईआरएसले जनाएअनुसार पहिलो लटको रकम शनिबार नै करदाताहरूको खातामा जम्मा गरिको हो।

सन् २०१८ वा २०१९ को कर दाखिला गर्ने क्रममा प्रत्यक्ष बैंकबाट कारोबार गर्नेहरू यो लटमा परेका छन्। त्यसमा पनि कम आम्दानी भएकालाई पहिलो प्राथमिकतामा पारिएको छ।

अमेरिकाले निम्न र मध्यम आय भएका करदाता र अमेरिकी र अर्थतन्त्र दुबैलाई चलायमान बनाउन एकल करदाता भए ७५ हजार र संयुक्त करदाता भए एकलाख ५० हजारभन्दा कम वार्षिक आम्दानी भएकालाई क्रमश: १२०० र २४०० अनि १७ वर्षभन्दा कम उमेरका डिपेन्डेन्ट सन्तानलाई प्रति सन्तान ५०० दिने निर्णय गरेको थियो । 

आइआरएसले पहिलो लटमा यही वर्गका करदातालाई स्टिमुलस चेक पठाएको हो। यसैगरी एकल करदाता भए ९९ हजार र संयुक्त करदाता भए एकलाख ९८ हजारभन्दा कम कमाइ हुनेलाई पनि कमाइका आधारमा राहत चेक पठाइने भनिएको छ। तर, त्यस्ता करदाताले भने दोस्रो लट पर्खनुपर्ने हुन्छ। 

त्यसपछि अर्को लटमा कर दाखिला गर्ने हैसियत नभएकाका लागि स्टिमुलस चेक पठाइने बताइएको छ। त्यसका लागि आवश्यक व्यवस्थापन भैरहेको पनि आईआरएसले जनाएको छ। 

यसैबीच सम्बन्धित करदाताको खातामा शनिबार जम्मा गरिएको रकम सोमबार रिलिज हुने जनाइएको छ। 

बैंक खाता नहुने र चेकबाट करको रकम कारोबार गरिएका करदाताको रकम भने हुलाकमार्फत घरघरमै पठाइने भनिएको छ। त्यसका लागि भने केही लिन प्रतिक्षा गर्नुपर्ने पनि आईआरएसले जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-04-12 05:56:43

प्रतिकृया दिनुहोस्