कथा
हरियो रंगको सानो एक बोरा नजिकै गएर रामसुरत मुसुक्क मुस्कुरायो।
सायद उसले त्यहीँ बोरामा आफूले फेर्ने सास देखेको हुँदो हो।
केही साताअघि रामसुरतको टोलमा एक हल्ला फैलिएको थियो।
उसको एक साथीले रामसुरतलाई रेडियोको हवाला दिँदै भनेको थियो, ‘काठमाडौंमा डरलाग्दो भाइरस आउँदैछ रे। साना केट्केटी र बुढापाकालाई छोए क्वाप्पै खाइदिन्छ रे।’
बस त्यो बाहेक रामसुरतलाई केही थाहा छैन। बरू भाइरसले बुढापाका खाने सुनेर मधेशमा बस्ने आफ्नो बाबुलाई सम्झिन्छ रामसुरत। तर उसले एक पटक फोनसम्म गर्न सकेको छैन।
फोन गर्न लागि रामसुरतसँग सानो नोकिया मोबाइल र एनसेलको सिम कार्ड त छ। तर त्यो मोबाइलमा राख्ने ब्यालेन्स सकिएको चार हप्ता कट्सिक्यो।
रामसुरतका साथीले रेडियो हवाला दिँदै भाइरसको कुरा गरेको तीन दिनमै काठमाडौं बन्द भयो।
काठमाडौंको बालकुमारी मन्दिर नजिकै रहेको एक घरमा रामसुरत इट्टा बोकिरहेको थियो। घर मालिक्नी आएर उसको हातमा एक हजार थमाइदिइ र भनी, ‘रामसुरत, भोलिदेखि बन्द छ। अब खुलेपछि आऊ।’
रामसुरतले मालिक्नीको अनुहारमा पुलुक्क हेर्यो र सोध्यो, ‘किन बन्द भयो?’
मालिक्नी सिँढी उक्लिदै उक्लिदै बोली, ‘भाइरस आएको छ रे, टिभीमा समाचार आयो।’
रामसुरतले ठम्याउन सकेन, ‘साथीको रेडियोले भनेको भाइरस र मालिक्नीको टिभीमा आएको सम्चारले भनेको भाइरस एउटै हो कि होइन!’
रामसुरत, चक्रपथपारीको आफ्नो टहरामा फर्कियो।
फर्किँदा साथीहरू पनि फर्किसकेछन्।
सबैले भने, ‘आजदेखि बन्द भयो।’
रामसुरतले साथीहरुको भीडमा रेडियोवाला साथी खोज्यो तर, भेटेन।
ऊ आफ्नो टहराभित्र पस्यो। आफ्नो चुइकिने खटियामा असरल्ल परेको थोत्रो ब्ल्याङ्केट अली पर सार्यो र डङ्ग्रङ्ग पल्ट्यो। रामसुरत पल्टिदा उसको खटिया एक पटक जोडले चुइक्यो।
खटियाको आवाजसँग रामसुरत अभ्यस्त भइसकेको थियो। उसले आवाजसँग खास मतलब राखेन। ऊ उत्तानो पल्टिँदा टहरोको छानोको टिनका प्वालबाट आएका घामका छिर्का उसको अनुहारमा परे।
घामका छिर्कासँगै उत्तानो पल्टिएको रामसुरत निदायो। ऊ बिउझिँदा झमक्क साँझ परेको थियो।
बेलुकाको पेटको जोहो गर्ने सुरमा ऊ बाहिर निस्कयो। निस्कँदा निस्किदै उसले मालिक्नीले दिएको एक हजारको नोट गोजीबाट झिकेर हेर्यो र गोजीमै राख्यो।
रामसुरत अक्षर पढ्न जान्दैन, तर नोट भने चिन्छ।
ऊ सरासर सडकतिर पुग्यो। नजिकैको तरकारी र रासनको पसलमा आफ्नै साथीको भिड देख्यो। रामसुरत भिडतिरै गयो। रेडियोवाला साथी त्यतै भेटियो। चाउरिएका निधारसँग झमक्क साँझमा पसलबाट बलिरहेको बत्तिको उज्यालोमा रामसुरतले आत्मीयताको एक मुस्कान फ्याँक्यो। रेडियोवाला पनि मुस्कारायो र भन्यो, ‘मेरो रेडियोले सही भनेछ रामसुरत, भाइरस आएर बन्द भएको रे।’
रामसुरत र रेडियोवाला साथीलाई रेडियोसँग औधी विश्वास लाग्यो। रामसुरतले साथीलाई आग्रह गर्यो, ‘अब रेडियोले भनेका कुरा मलाई पनि भन् है।’
पसलमा भिडभाड बढ्दो थियो। रामसुरतका साथीसँगै टोलका अन्य मानिस पनि धमाधम पसलमा आउन थाले। टोलका मानिसले रामसुरतका साथीहरुलाई पन्छाएर चामलका बोरा, दाल, तरकारीका लागि आफ्नो नाम टिपाउन थाले। हेर्दाहेर्दै पसलेको गोदाममा चामल दाल घट्न थाल्यो।
रामसुरतले मनमनै भन्यो, ‘बन्द लामै छ क्यारे!’
उसले चुइकिने खटियामुनीको आफ्नो रासन सम्झ्यो। कोठाबाट आउँदा हिजो मात्रै किनेको दुई किलो चामल र आधा किलो मुसुरो छामेरै आएको थियो।
रामसुरतले अन्दाज गरेको थियो, दुई किलो चामल चार छाकका लागि पुग्छ। चार छाक भोलि बेलुका। उसले दुई किलो चामल थप्ने निर्णय गर्यो।
रामसुरत भिडबीचबाट पसलमा जान लाग्दा ह्वास्स गन्हायो। टोलकी मोटी महिला नाक थुन्दै अली पर सरी। उसले पसलेसँग दुई किलो जिरामसिनो चामल माग्यो।
पसलले केही बेरमा दुई किलो चामल तौलेर रामसुरतको हातमा थमाउँदै पसलेले भन्यो ‘दुई सय’।
हिजो मात्रै एक सय ६० मा लगेको दुई किलो चामलको मोल भाइरसले बढाएछ क्यारे! अनुमान गर्दै रामसुरतले हजारको नोट पसलेलाई दियो। पसलेले घर्राबाट निकालेर आठ सय रूपैयाँ फिर्ता दियो। रामसुरत अली परको तरकारी पसलमा गयो। उसले एक किलो प्याज र एक धार्नी आलु किन्यो।
तरकारी पसलबाट फर्किँदै गोजीमा रहेको ६ सय रूपैयाँ हेर्दै मुस्कुरायो।
रामसुरत सरासर आफ्नो टहरामै गयो। आफ्नो रासन र तरकारी खटियामुनी राख्यो।
टिनको ढोका हातले तान्दै रेडियोवाला साथीको तिर गयो। रेडियोवाला पनि रासनको जोहो गरी फर्किसकेको थियो।
रेडियोवालाले रामसुरतलाई सँगै खाना खान आग्रह गर्यो। रामसुरतले हुन्छ भन्दै टाउको हल्लायो।
रेडियोवालाले पहिला रेडियो बजायो र स्पीकरमा जोड्यो।
त्यसपछि रामसुरतलाई चार वटा आलु र एउटा प्याजसँगै एउटा चक्कु थमायो।
रामसुरतले आलु ताछ्न खोज्यो। रेडियोवालाले रोक्दै भन्यो, ‘बोक्रा फाल्नुहुन्न, भेटामिन जान्छ।’
रेडियोवालाले खटियामुनीबाट चामलको प्लाष्टिक झिक्यो र दुई अन्जुली चामल सानो डेक्चीमा राख्यो। छेउमै राखिएको कालो ड्रमबाट प्लाष्टिकको मगले पानी झिकेर डेक्चीमा खन्यायो। खटियाछेउको भूँइमै राखिएको ग्यास चुल्होको बटम अन गर्यो। ग्याँस ह्वास्स गन्हायो। उसले हतारहतार सलाइ कोर्यो। ग्याँस धिप्प भएर बल्यो। रेडियोवालाले डेक्ची चुल्होमाथि राख्यो र ग्याँस सानो पार्यो।
रामसुरतले आलु र प्याज एउटा स्टीलको थालमा राखेर पखाल्यो। एकछिनमै भात छड्कन थाल्यो। रेडियोवालाले सानो पन्यूँले चलाएर पिँधमा ट्याट्याक गरेर चुल्हो छेउमा पन्यूँ राख्यो। रामसुरतले आलु र प्याज रेडियोवालालाई दियो। भात निकालेर रेडियोवालाले खुर्सानी राखेर आलु र प्याजको झोल बनायो। एकै छिनमा रामसुरत र रेडियोवालाले भात र झोल खाए अनि खटियामा उक्लिए।
रेडियोवालाको खटिया रामसुरतको भन्दा बलियो थियो। उनिहरु टाँसिएर त्यहीँ खटियामा सुते।
रेडियो के के हो बोल्दै थियो। एकछिन केही नबोली उनिहरुले रेडियोको आवाज सुने। खास केही बुझेनन्।
रामसुरतको पनि रेडियोसँगको विश्वास बढ्दै थियो। रामसुरतको सानो मोबाइलमा पनि रेडियो थियो। तर उसले कहिले बजाएको थिएन। रेडियोवाला साथीसँग एउटा सानो स्पीकर पनि थियो। ब्लुतुथ जोडेर ऊ मोबाइलबाटै जोडले रेडियो बजाउँथ्यो।
आज पनि २ घण्टादेखि रेडियो अथक चिच्याइरहेको थियो। रेडियोवालालाई निन्द्राले उसले छोपेपछि रेडियो बन्द गर्यो।
बिहान आठ बजेतिर रामसुरत हतार हतार उठ्यो। उसले मोबाइल थिच्यो, ‘ओहो आठ बजेछ।’
उसले काममा जान ढिलो भएको सम्झेर हतार हतार टिनको ढोका तान्न खोज्यो। उसका आँखा ढोका माथि झुण्डिएको स्पीकरमा पुगे।
रामसुरतले रेडियो र आजको बन्द सम्झ्यो। खुइय्य सुस्केरा छोड्दै फर्केर फेरि रेडियोवाला छेउमै पल्ट्यो रामसुरत।
रामसुरतको टोलमा मध्यान्ह १२ बजेतिर एक टोली आयो। उनीहरुले रामसुरत र उसका साथीहरुलाई हात धुन र मास्क लगाउन सिकाए। एक/एक थान मास्क पनि दिएर गए। रामसुरतका साथीहरुले नयाँ मास्क लगाएरै दिन बिताए।
मास्क पाएको भोलिपल्ट रामसुरतले रेडियोवालालाई सोध्यो, ‘बन्द कहिले खुल्छ?’
रेडियोवालाले अर्कै जवाफ फर्कायो, ‘अब सरकारले बन्दभरी हामीलाई चामल किनिदिने रे।’
बन्दभरी सरकारले चामल दिने हल्ला सबै मजदुरको कानमा पुग्यो।
त्यही साँझ रामसुरत र रेडियोवालाले एउटा सल्लाह गरे, ‘रामसुरतसँगको ६ सयले दारू पिउने।’ उनीहरुले दारु खोजे। सबैतिर बन्द थियो, कतै भेटिएन।
पछि टोलबाटै रेडियोवालकी दिदी पर्ने विमलाले दारू किनिदिइन्। किनिदिए वापत विमलाले एक सय पाइन्। रामसुरतको ६ सयमा एक सय विमलाको बकस र ५ सयको दारू।
दारु पाएपछि रामसुरत र रेडियोवाला खुशी भए। रामसुरतले एक गिलास दारू पिएपछि भन्यो ‘चामल सरकारले दिने भए पैसा किन चाहियो!’
रेडियोवाला जोडले हाँस्यो। त्यो रात उनीहरूले हाँसेरै बिताए। रामसुरतको चुइकिने खटियामा दुई वटा स्टीलको गिलासका साथ बसेका दुई जनाले रात बितेको पत्तै पाएनन्।
भोलिपल्ट बिहानै रेडियोवाला शिथिल हुँदै आफ्नो टहरातर्फ गयो। रामसुरत केही बोलेन। ६ सय सकिएको चिन्ताले हो कि उनी चुइकिने खटियामै दिन बिताउन थाल्यो रामसुरत। एक हप्ता बित्यो। उनले खटियामुनी राखेको चार किलो चामल सकियो। योबीचमा रेडियोवाला र उनका साथी कोही पनि आएनन्।
त्यसपछिका दुई छाक भोकै बसेपछि रेडियोवालाको टहरामा छिर्यो रामसुरत। रामसुरतको स्वागतमा रेडियोवालाले एक मुस्कान छोड्यो र हालखबर सोध्यो। अनि रेडियोले भनेको नयाँ खबर सुनायो। ‘चामल पाउनका लागि नाम टिप्न आज सरकारका मानिस आउने रे।’
रामसुरतको भोक खुशीमै एक छिन हरायो। ऊ खुशी भयो। खुशीको एक मुस्कान फ्याँक्यो। रामसुरतसँग खुशी हुँदा अरुलाई बाँड्नका लागि मुस्कान थियो। ऊ मुस्कुराउँदा उसका काला दाँत देखिन्थे। मुखबाट ह्वास्स गन्ध आउँथ्यो।
बिहान ११ बजे सरकारका मान्छे आए। रामसुरतले रेडियोवालासँगको विश्वास फेरि बढायो। ऊ रेडियोवालालाई हेर्दै हार्दिकताका साथ फेरि मुस्कुरायो।
दुई छाक भोकै रामसुरतले कालो रंगको मास्क चिउडाँमा अड्काएको थियो। रामसुरतका काला दाँत लेउ लागेजस्तै देखिन्थे।
वडा कार्यालयको फाराम भर्ने महिलाले सबैलाई मास्क लगाएर टाढा टाढा लाइनमा बस्न भनिन्। रामसुरतले हतारहतार मास्क नाक र मुखमा अड्कायो। रेडयोवालाले सबैलाई टाढा/टाढा उभिन भन्दै आफू सबैभन्दा अगाडि उभियो। उसले रामसुरतलाई आफ्नो पछाडि उभ्यायो।
वडाको महिलाले रेडियोवालालाई १ नम्बरमै सोध्यो, ‘नाम के हो ?’
रेडियोवालो भन्यो, ‘हरी तिम्सिना।’
रामसुरतले पहिलोपटक थाहा पायो रेडियोवालाको नाम।
त्यसपछि महिलाले दोस्रो नम्बरमै लेखी
‘रामसुरत’
रामसुरतका सबै साथीहरुको नाम लेखेर महिला गइ।
चामल पाउने नाम लेखेको एक हप्ता बित्यो। यो बिचमा रामसुरतले रेडियोवाला र अन्य साथीको भागबाटै छाक टार्यो।
रामसुरतलाई एक हप्तामा रेडियोवालाले दिनहुँजसो भोलि चामल आउने सम्चार सुनायो।
तर चामल आएन।
रामसुरतलाई आज बिहानै झोँक चल्यो। रेडियोवाला पनि दुश्मनजस्तो लाग्न थाल्यो।
बिहानै दिक्क मान्दै रामसुरत आफ्नो टहराको टिनको ढोका जोडले तान्दै बाहिर निस्कयो। कालो रंगको उही पुरानो मास्क चिउँडामा अड्काएर रामसुरत सडक छेउमा बस्यो।
सडक सुनसान थियो, पसलहरु सबै बन्द थिए। काठमाडौं आएपछि यस्तो पहिलोपटक नै देखेको हो रामसुरतले। पहिलापहिला गाडी नभए पनि मानिस हुन्थे सडकमा।
सडक छेउमा बसेको करिब एक घण्टापछि रामसुरतले एउटा गाडी देख्यो। उसको नजिकै गाडी रोकियो।
गाडीबाट एक मोटे मानिस निस्कियो। उसले रामसुरत छेउको एउटा बन्द पसल अगाडि गएर गोजीबाट ठूलो मोबाइल झिक्यो र फोन गर्यो, ‘म तपाईँको पसल अगाडि छु। मलाई चामल चाहिएको छ।’
चामल सुनेर रामसुरतलाई फेरि भोक लाग्न सुरु भयो।
एकैछिनमा पसल खुल्यो। ५ किलोको सानो चामलका बोराहरू पसलेले गाडीमा राख्न थाल्यो।
रामसुरतलाई चामल देखेर सास बढेर आयो। उसले एक किलो चामलको आश गर्यो। एक किलो चामल लगेर झुटो हवाला दिने रेडियोवालालाई देखाउने सपना देख्यो रामसुरतले।
रामसुरत गाडीवाला मोटेको नजिकै गयो र दुई हात जोड्यो। मोटेले कड्किदै सोध्यो, ‘के चाहियो हँ?’
‘साहुजी एक हप्ता भयो केही खाएको छैन।’ रामसुरतले हात जोडेरै भन्यो।
मोटेले पसलेलाई अर्डर गर्यो, ‘साहुजी एक बोरा यसलाई पनि दिनुहोस् त।’
रामसुरतले आफैंले २ किलोभन्दा बढी चामल किनेको थिएन। उसले पहिलो पटक पाँच किलो चामल पायो। रामसुरत चामलको बोरा हेर्दै मुस्कुरायो।
गाडीवाला मोटे आफ्नो बाउभन्दा पनि ठूलो लाग्यो रामसुरतलाई। उसले मोटेतिर हेरेर फेरि दुई हात जोडेपछि चामलको बोरामा काँधमा राख्दै गल्लीभित्र छिर्यो।
गल्ली छिर्दै पछाडि फर्केर रामसुरतले फेरि एक मुस्कान फ्याँक्यो।