कोरोनाले मृत्यु हुनेको संख्या लाख नाघ्यो : इटालीमा सबैभन्दा बढी १८ हजार ८ सय ५० ले ज्यान गुमाए

चीनको वुहानबाट सुरू भएको कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या शुक्रबार राति साढे १० बजेसम्म १ लाख २६८ जना पुगेको छ। कोरोनाले १६ लाख ४७ हजार ९ सय जना संक्रमित भएका छन्। त्यस्तै ३ लाख ६९ हजार १ सय ७३ जना निको भएका छन्।

शुक्रबार एकै दिन अमेरिकामा १ हजार २३६ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १७ हजार ९२७ पुगेको छ। अमेरिकामा ४ लाख ७८ हजार ३ सय ६६ संक्रमितमध्ये ९ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन्।

बेलायतमा पनि शुक्रबार एकै दिन ९८० जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाएका छन्। ७० हजार २७२ जना संक्रमित मध्ये ५ हजार १९५ जना नयाँ संक्रमित थपिएका छन्।

इटालीमा एकै दिन ५७० जनाले ज्यान गुमाएका छन्। हालसम्म इटालीमा १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन्। कोरोनाले मृत्यु हुने इटालीमा सबैभन्दा बढी छन्। १ लाख ४७ हजार ५७७ संक्रमित छन्। जसमा ३ हजार ९५१ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा एकै दिन ५२३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १५ हजार ९७० जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ५७ हजार ५३ संक्रमित छन्। जसमा ३ हजार ८३१ जना नयाँ संक्रमित भएका छन्।

दक्षिण एसियाली राष्ट्र भारतमा ७३४७ जना संक्रमित भेटिएका छन् भने २२९ जनाको ज्यान गइसकेको छ। नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएपनि एक जना निको भएर घर गइसकेका छन्।

प्रकाशित मिति: : 2020-04-10 22:34:47

प्रतिकृया दिनुहोस्