कोरोनाविरुद्धको अभियानका लागि लागि दक्षिण कोरियाका नेपालीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री पठाएका छन् ।
एक हप्ताअघि नै नेपाल पुगिसक्नु पर्ने उक्त किट्स कोरोना भाइरस संक्रमणकै कारण विमान उडान प्रभावित हुँदा शुक्रबार मात्रै सामान काठमाडौं आइपुग्न लागेको हो।
एनआरएनए कोरियाले ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’मार्फत ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात १ करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन गरेको थियो ।
अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा ८० लाख रुपैयाँ बराबरको ४ हजार किट र ५ सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एअरलाइन्सको विमान चाटर्ड गरेर शुक्रबार दिउँसो ३ः३० बजे नेपाल आइपुग्ने दूतावासले बताएको छ ।
किट्सबाहेक अन्य स्वास्थ्य सामग्रीअन्तर्गत दुई हजार थान पिपिई , १० हजार एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार पञ्जा र पाँच सय थर्माेमिटर पनि आइपुग्ने जनाइएकाे छ।
एनआरएनए कोरियाले नेपाल पठाइने किट्स २४ घण्टाभित्र नै सुरक्षित रुपमा भण्डारण गरिनुपर्ने जनाएको छ।