हातमा गतिलो पन्जा, मुखमा मास्क, आँखामा चश्मा, टाउकोमा टोपी लगाएर केही दिनअघि मात्र स्विट्जरल्याण्डको जेनेभा शहर घुम्न म पत्रकार श्रीमानसँग बाहिर निस्किएकाे थिएँ।
श्रीमान् रिपोर्टिँङका निम्ति हिँडिरहने हुनाले एक्लै कोठामा योगा, ध्यान र बेलामौकामा नाच्दै समय बिताइरहँदा बाहिरी दुनियाँसँग लगभग अन्जान जस्तै भएकी थिए। एक सातापछि बाटोमा हिँड्दा थाहा भयो, बाटो त पुरै मसानघाटमा रुपान्तरण भइसकेकाे रहेछ। खुट्टा तन्काउँदै गरेका एकाध मानिसबाहेक जेनेभाको लेमन ताल छेउमा काेही भेटिएनन्। अक्सर शहर घुम्दा म गल्लीहरु घुम्न रुचाउँछु।
गल्लीमा विभिन्न भाव र भँगिमाका मानिस भेटिन्छन्। तिनका चालमा आफ्नै खालको जिवन्तता हुन्छ, यद्धपि उनीहरु अपरिचित नै किन नहुन्।
फ्रेन्च भाषा पढाइ हुने पाकिज गिर्जाघरको अघिल्तिर साना केटाकेटी पढ्ने प्राइमरी स्कुल छ। म अक्सर त्यहाँ जान मन पराउँछु। यहाँ आउदा मलाई अलाैकिक आनन्द प्राप्त हुन्छ। कहिले काहीँ आफैमा हराउने गर्छु। केटाकेटीको चिर्बिर मलाई खुब मनपर्छ।
केटाकेटी बेलुकी बाँसको झ्याङमा हल्ला गरेका चरा झैँ कराउँछन्। मलाई यो मीठो संगीत लाग्छ। त्यही संगीतको लयमा हराएर कहिले काहीँ आफ्नाे जन्मथलो स्याङजाको बिर्घा पुग्छु, कहिले कर्मथलो पाल्पा तानसेनको दमकडा मदनपोखरा।
लामो समय प्राइमरी स्कुलको शिक्षिका भएर काम गरेकाे अनुभवले गर्दा हो कि, मलाई याे स्कुलमा पाइला टेक्याे कि गाउँकाे स्कुल याद आउछ। एउटा छुट्टै दर्पणसँग एकाकार भए जस्तै यिनीहरुमा पनि आफूले पढाएका बालबच्चाको अनुहार देख्छु।
तर त्याे दिन स्कुलको दैलो बन्द थियाे। वरपर छिटपुट मानिस औषधि र खानेकुरा किन्न मात्र निस्किएका थिए माग्ने पनि थिएनन् रेल अड्डाको छेउछाउ। त्यहाँ न भायोलिन बजाएर माग्ने पूर्वी युरोपका मगन्ते मोजार्टहरु नै थिए। बडो सुनसान। चकमन्न। एक किसिमले भन्नु पर्दा उराठ लाग्दाे। मैले नपढाएका तर दिनहुँ स्कूल जाँदा टोलाएर हेर्ने केटाकेटी के गर्दै होलान्? त्यहाँकाे अवस्था देखेपछि एक्कासी मन भक्कानियाे। उनीहरुकाे चिन्ता लाग्न थाल्याे।
चारैतिर कोरोनाको कहर छ । बाहिर निस्कन बन्देज गरिएको छ। बगैँचाभरी फूल फुलेका छन्। गर्मी बढ्दैछ। केटाकेटी पार्कका हरिया दुबोमा बुरुकबुरुक गर्ने, पिङमा हुत्तिएर आकाशिने माैसम हो, याे। तर पार्कमा कागहरुको कर्कश छ। कागहरु बडो मिहिनेतपूर्वक जम्मा गरेका गुँड कुरेर बसेका छन्। हामीलाई पो उनीहरुकाे स्वर कर्कश लागेकाे हाेला, हुर्कँदै गरेका बचेरालाई त्यो स्वर कति कर्णप्रिय हुँदो हो?
त्याे दिन लेमोन तालबाट परैसम्म चियाएँ म। कतै बाबुआमाको हात समातेर तातेताते हिँडेका केटाकेटी भेटिन्छन् कि भनेर। अहँ! भेटिएनन्। फाटफुट दौडिने बाहेक। ती तालको छेवैछेउ दौडिरहेका थिए। सोचेँ–प्रकृतिले यो दौडलाई समेत लगाम लगाइदिएको छ। आखिर तातेतातेदेखि दौडिरहँदासम्मको मान्छेलाई आज प्रकृतिले घरभित्र कैद गरिदिएको छ।
एकटककाे लामाे हेराइपछि त्यो मान्छे आरुको बुटामुनिबाट अलप भयाे। उ दौडिँदा हावाको कम्पनसँग ठाेक्किएर आरुका केही फूलहरु उडेँ। म कल्पनाकाे संसारमा पुगेछु र आरुकाे फूललाई इटालीका काेराेना पीडित जनतासँग तुलना गर्न पुगेछु।
मैले हेरिरहँदा आरुका ती फूलहरु उड्दै उड्दै लेमन तालको पानीको लहरमा मिसिए। र, एकैछिनमा बिलाए। इटालीमा अहिले मानिसकाे अवस्था यस्तै भएकाे छ।
मृत्युको डरले संसारका मान्छे काहालिएका छन्। सबैलाई आफ्नै ज्यान प्यारो छ। पल्लोघरमा लास परोस्, मान्छे उठाउन जान तयार छैन। मान्छे सम्पूर्ण रुपमा आफैमा केन्द्रित भएर घरमै नजरबन्द छ। यस्ताे बेला सबैले केटाकेटीलाई बिर्सिएका छन्। पार्क जान निषेध गरिएका केटाकेटी, स्कूल बन्द भएर घरमै थुनिएका साना नानीहरुलाई पाकापुस्ताले बिर्सिएका छन्।
सामाजिक संजालमा हेर्छु, सबैले यो सिनेमा हेर, ढिस्काना किताब पढ, यो हास्यप्रधान सिनेमा हेर भनेका छन्। अझ युरोपमा त वयस्कले तनाव हटाउन यौन सामाग्री हेर भनेर संचारमाध्यमबाटै आइरहेका छन्। यो बेला केटाकेटीलाई के गर्ने भनेर कतै भनेको सुनिएको छैन। यो बडो बिचित्रकाे अवस्था हाे। दुर्भाग्य पनि।
स्विट्जरल्याण्डको जेनेभामा सात वर्षकी भान्जी र तीन वर्षका पुन्टे भान्जा छन्। ती डेढ सातादेखि काेठामै कैद छन्। छेवैमा रहेको थुम्ले पार्क र मामामाइजूको छेउमा रहेको भेर्मोको पौडी केन्द्र र पार्क तिनका निम्ति बिरानो भएको छ। कतै कोरोनाको यमराज जम्काभेट नहोस् भनेर नौ महिनाभन्दा पहिल्यै यो धरतीमा आउन हतारिएका भान्जालाई भेट्न सकिरहेकी छुइन।
भान्जीको स्वास्थ्यमा तलबितल नपरोस् भनेर उनीहरुसँग तारम्तार फाेनमा बोल्न बाध्य छु। दश मिनेटको दूरीमा भेटघाट हराएको छ म आफैकाे। फोनमा बोलेर न्यास्राे मेटाउन बाध्य छु।
पुन्टे भान्जालाई साह्रै न्यास्राे लाग्दाे रहेछ माइजूको। फोन समातेपछि राख्नै मान्दैन। उनीहरुले ‘तिमी एकैछिनको लागि आउन माइजू’ भन्दा मेरा आँखा रसाए। सँगै लुटुपुटु गर्ने यी केटाकेटीको दैनिकी सम्झेर बडो नरमाइलो लाग्छ।
हुनत भान्जीलाई स्कूलले अनलाइनमा पढाउँदो रहेछ। होमवर्क दिन्छ। उनीहरुको आफ्नै रुटिन छ। भान्जीको भर्खरै अघिल्तिरको दाँत झरेकाे थियाे। हरेक सप्ताहन्तमा भेट हुने भान्जीको दाँत खस्दा मैले दाँतका देउताको पाहुर दिन पाइन।
स्विट्जरल्याण्डमा केटाकेटीको दाँत खस्यो भने त्यो खसेको दाँतलाई सफा रुमालमा पोको पारेर सिरानीमुनि राख्यो भने दाँतका देउताले राति पैसा र पाहुरपात छोडेर जान्छन्। जसका कारण छिटै नयाँ दाँत पलाउँछ भन्ने किंवदन्ती छ। यसअघि दाँतझर्दा मैले केही चुनदाम र पाहुर राखिदिएकी थिएँ, भान्जीकाे सिरानीमा।
सोधेँ पनि, ‘दाँतको देउताले पैसा राखिदिए त?’
भान्जीले भनिन्, ‘राख्यो माइजू। तर यसपटक बजारहरु बन्द भएकोले पाहुर राखिदिएन।’
मैले सम्झाएँ, ‘यो कोरोना भाइरस भागेपछि ल्याउँछ होला।’
भान्जीले सोधिन्, ‘माइजू दाँतको देउता पनि डराउँछ यो कोरोना भाइरससँग?’
मैले भने, ‘अँ डराउँछ। देउतालाई त मन्दिरभित्रै थुनिदियो रे।’
भान्जीले भनिन्, ‘माइजू भगवानले सफासँग हात धुन्न कि के हो? हात धोयो भने त मर्छ रे भाइरस। मलाई टिचरले भनेको।’
मैले भने, ‘भगवानको हात सधै सफा हुन्छ। उसलाई कोरोनाले छुन्न।’
उनकाे प्रश्नमा मेराे जवाफ के हुनुपर्थ्याे मलाई थाहा भएन। तर यही उत्तर आयो। जे होस् स्कुलले उनीहरुलाई पनि कोरोनाको बारेमा जानकारी दिएको रहेछ।
बरु भान्जीले भनिन्, ‘माइजू आत्तिनु हुँदैन। राम्रोसँग हात धोएपछि र घरमै बसेपछि केही हुँदैन। तर मलाई पार्क ‘मिस’ भइराखेको छ। पार्कको पिङ ‘मिस’ भइराखेको छ।’
हामी कोरोनाको बारेमा नानाथरी कुरा गर्छौँ, साथीभाईसँग भलाकुसारी गरिरहेका हुन्छाैं। के घरभित्र थुनिएका केटाकेटीको बारेमा कहिल्यै सोचेका छाैं। उनीहरुलाई कहिल्यै साेधेका छाैं–उनीहरुको जिज्ञासा र चाहना के हाे भनेर। यो बेला अभिभावकहरु हप्कीदप्की गर्ने डरलाग्दा मानिस बन्नु हुँदैन। केटाकेटीका साथी हुने खाँचो देखिरहेकी छु म त।
मलाई यस्ताे लाग्छ, के तपाईलाई लाग्दैन?
(तानसेन पाल्पा हालः जेनेभा, स्विजरल्याण्ड)