रविन्द्र मिश्रको देउवालाई प्रस्ताव: उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र बनाउन पहल लिनुस्

साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’ निर्माणका लागि अग्रसरता लिन आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँगको संवादमा आफूले यस्तो प्रस्ताव गरेको मिश्रले जानकारी दिएका छन् । मिश्रको भनाइ छ, ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रले सरकारका लागि सल्लाहकारीय भूमिका मात्र निर्वाह गर्ने छ । कार्यकारी भूमिकामा त स्वयम् सरकार छँदैछ ।’

टेलिफोन संवादबारे ट्वीट गर्दै मिश्रले भनेका छन्, ‘यो अभूतपूर्व संकटको सामना गर्न साझा पार्टीले बारम्बार उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी सबै मिलेर संकटको सामना गर्न सरकारलाई सुझाउँदै आएको छ । सोही प्रस्तावमा जोड दिन प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा अग्रसरता लिन आज मैले भूतपूर्व प्रधानमन्त्री देउवालाई फोनमा आग्रह गरेँ ।’

मिश्रले संसारका अन्य ठाउँमा संक्रमण कम भएर गयो भने हामी पनि सुरक्षित हुने बताउँदै अन्यथा स्थिति सोचेभन्दा भयावह हुने बताएका थिए । उनले यसको असर चौतर्फी र दूरगामी हुने पनि बताए ।

मिश्रले छलफलबारे जानकारी दिए, ‘उहाँले वर्तमान स्थिति र प्रधानमन्त्रीको ‘उदाशीन’ कार्यशैलीप्रति गम्भिर चिन्ता व्यक्त गर्नुभयो। संकटको सामान गर्न सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो। मैले “समाज र देश नै संकटमा परे राजनीतिक दलहरू स्वतस् संकटमा पर्ने” उल्लेख गरेँ।’

देउवासँगको कुराकानीका क्रममा मिश्रले समाज र देश नै संकटमा परे राजनीतिक दल स्वतः संकटमा पर्ने उल्लेख गर्दै भने, ‘अहिलेको अवस्थामा सबै मिलेर सरकारलाई नै सहयोग गर्नु हामी सबैको दायित्व हो । साझा पार्टीले बाहिर छुट्टै संयन्त्रको प्रस्ताव गरेको होइन ।’

प्रकाशित मिति: : 2020-04-08 13:16:04

प्रतिकृया दिनुहोस्