कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहान सहर ११ सातापछि आज बुधबारदेखि खुलेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएसँगै बजार खुलेको हो ।
लकडाउन खुलेसँगै एक करोड १० लाख मानिसको बसोबास रहेको यो सहरका मानिसहरू घर बाहिर घुम्न पाउनेछन्।
पछिल्लो समय चीनमा कोभिड–१९ को महामारी बिस्तारै नियन्त्रणमा आएसँगै चीनले लकडाउन हटाउन थालेको हो ।
लामो समयको लकडाउन हटेसँगै हाईस्पीड ट्रेनले पनि सेवा सुरु गरेको छ ।
चीनमा कोरोना भाइरसबाट ८२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। भाइरसबाट अहिलेसम्म चीनमा तीन हजार तीन सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। यद्यपी निको भएर घर फर्कनेको संख्या धेरै छ।
चीनको ठूलो औद्योगिक केन्द्रको रुपमा रहेको वुहान विशेषगरी अटो उद्योगको लागि चर्चित छ।
लकडाउन हटेसँगै धेरै ठूला उद्योगले आफ्नो उत्पादन पुनः शुरु गरिसकेका छन्। साना र मझौला आकारका व्यवसाय पनि आफ्नो उत्पादन शुरु गर्ने तयारीमा छन्।
लकडाउनले धारासयी भएका उद्योगलाई सहयोग गर्न सरकारले २ अर्ब ८० करोड डलरको सहुलियत ऋणको व्यवस्थासमेत गरिसकेको छ।
चीनले जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको थियो।