काेराेनाबाट कति सुरक्षित छन्, गाेरखाकाे हिमाली भेगका जनता(फाेटाे फिचर)

राजेन्द्र कुँवर

सामागाउँ(गाेरखा)

मनास्लु हिमालस्थित सामागाउँ पर्यटकको लागि प्रमुख स्थान हो। सदरमुकामबाट यहाँ आइपुग्न करिब एक साता पैदल हिड्नु पर्छ। यातायातको असुविधा भएको यस क्षेत्रमा बस्ने भोटेजाती काेराेना भाइरसकाे अहिलेको महामारीसँग अनविज्ञ छैनन्। 

यहाँका स्थानीयको मनमा एउटै कुराले जरा गाडेर बसेको छ, यदि कसैमा कोरोनाको असर देखिहाले तुरन्तै राजधानी काठमाडाैंस्थित टेकु अस्पताल कसरी पुर्‍याउने। न यहाँ यातायातको पहुँच छ, न यस्तो बेला बोक्ने मान्छे नै पाइन्छन्। 

विश्व कोभिड–१९ को समस्याबाट ग्रसित भएको बेला नेपालसहित यहाँका हिमाली क्षेत्रका बासिन्दामा डरकाे माहाेल रहेकाे छ। चुननुब्री गाउँपालिका वडा न–१ का अध्यक्ष बीरबहादुर लामा कोरोनाको डरबाट गाउँलेहरु त्रसित रहेकाे बताउँछन्। ‘कोरोनासँग लड्न हामी सजग छाैं,’ अध्यक्ष बीरबहादुर बताउँछन्–‘यसका लागी सामागाउँस्थित एउटा विद्यालय भवनमा क्वारेन्टाइनकाे व्यवस्था गरेका छाैं।’

महिला–पुरुष गरि ४५ बेडको क्वारेन्टाइन तयार पारिएकाे उनकाे भनाई छ। ‘आवश्यक परे थप्न सकिन्छ,’ उनले बताए।उनले स्थानीयलाई गाउँमा भीड गरेर नबस्न सुझाव दिएकाे समेत जानकारी दिए। गोरखाको उत्तरी भेगमा रहेका हिमाली गाउँको जनजीवन कठिन त छदैछ, त्यसमाथि बाह्रै मास हिउँ पर्ने चुननुब्री गाउँपालिका आइपुग्न कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उत्तिकै चुनाैतिसँग जुध्नुपर्ने अवस्था छ। 

मनास्लु हिमालका फेदमा रहेका साम्दो, समागाउँ, स्याला र ल्होका मानिस कोरोनासँग मात्र नभएर चिसोसँग पनि डराउनु पर्ने अवस्था छ। चिसोमा कोरोना भाइरस छिटो संक्रमण हुने सुनेकाले तल काठमाडाैंबाट नानीबाबु लिएर घर आउदा रुघाखोकीले ग्रस्त हुँदा मनमा चिसो पस्ने वडा न–२ ल्होका अध्यक्ष पेम्बा रेता बताउँछन्।

चिसाेका कारण मानिसहरु एक ठाउँबाट अर्काे ठाउँ गएका छैनन्। त्यसैले संक्रमण फैलिने समस्या त्यति देखिदैन। चिसाेका कारण यहाँका मानिसहरु ‘हाेम क्वारेन्टाइन’ मा बसे झैं देखिन्छन्।

यसअघि यति बेला यहाँ बिदेशी पर्यटकको लस्कर देख्न पाइन्थ्यो तर यसपाली भने गाउँ पुरै सुनसान छ। पेम्बाका अनुसार स्थानीय खेतीपातीमा ब्यस्त छन्। गाउँमा स्वास्थ्यकर्मीको समुह लागेर प्रत्येककाे घरमा गई स्थानीयलाई साबुनपानीले हात धुन सिकाइएको बताउँछन्। 

अरु बेला सामान्य रुघाखोकी लागिराख्ने यहाँका स्थानीय वासिन्दा यसपालि भने सामान्य बिरामी समेत भएका छैनन्। त्यही पनि कोहि बिरामी भइहाले त्यसका लागि ल्हो वडा कार्यालाई नै क्वारेन्टाइन बनाइएको छ। जसमा हाल ३ वटा बेड राखिएको छ भने आवश्यकता अनुसार सजिलै थप्न सकिने पेम्बा बताउँछन्। 

‘एउटा वडाबाट अर्को वडा पुग्न स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेर मात्र जानु भन्ने गरेका छन्’, चुनानुब्री गाउँपालिका वडा–२ का अध्यक्ष पेम्बा रिताले बिएल नेपाली सेवासँग भने। 

गाउँमा कसैलाई कोरोनाको संक्रमण देखिहाले काठमाडाैं पुर्‍याउन ७ दिन लाग्ने भएका कारण बिरामीलाई बचाउन र संक्रमण फैलिन नदिन आफू लगायत गाउँपालिकाका सबै प्रतिनिधि बसेर सल्लाह गरेकाे उनकाे भनाई छ। ‘हामी जिल्ला प्रशासनसँग समन्वय गरि हेलिकप्टरको व्यवस्था गर्ने विकल्प बनेपछि अहिले ढुक्क छौ’, उनले बताए। 

सामागाउँ र ल्हो लगायतका अध्यक्षका अनुसार गाउँपालिकाको यो निर्णयले मनमा शान्ति मिलेकाे छ। दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई निकै कठिन छ। हिउँमाथिको बाटोमा हिड्नु पर्छ। मुख्य समस्या भनेको हिमाली क्षेत्रमा काम गर्न आउने कर्मचारी पनि यातायातको असुविधाका कारण गाह्रो मान्छन्। हेलीमा चढ्न सक्ने क्षमता सबैसँग हुँदैन्। पेम्बा भन्छन्–‘अहिलेसम्म कसैलाई जरोसम्म आएको छैन। आइहाले पनि स्थानीय स्तरमा गर्नसक्ने पूर्व तयारी गरिसकेका छौ।’

 

 

प्रकाशित मिति: : 2020-04-08 06:37:03

प्रतिकृया दिनुहोस्