ढुक्क रहनुहोस्, यूएईमा नेपालीलाई उहीँकाे नागरिकसरह व्यवहार गरेका छन्: प्रधानमन्त्री ‌ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली कामदारका सन्दर्भमा त्यहाँका युवराज मोहम्मद बिन सलमानसँग चासो व्यक्त गरेका छन्।

कोरोना भाइरसको महामारीबीच त्यहाँ रहेका नेपाली कामदारको सुरक्षाको विषयलाई लिएर युवराजसँग कुराकानी भएको प्रधानमन्त्री ओलीले बताएका छन्।

 ‘आज साँझ अबुधावी–यूएईका युवराज ( सलमान)सँग मेरो टेलिफोन संवाद भयो। उहाँले भन्नुभएको छ, ढुक्क रहनुहोस् नेपालीहरुलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं,’ एक ट्विट गर्दै उनले लेखेका छन्।

यस्तै प्रधानमन्त्री ओलीले नेपालीहरु इमान्दार र परिश्रमी रहेको र उनीहरुले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा युवराज सलमानले गरेको पनि बताएका छन्।

साेमबार दुबईमा एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको मृत्यु भएको अल रफ्फा प्रहरी चौकीले जनाएको छ। 

प्रहरीका अनुसार उनी देवदह–६ बुटवलकी हुन्। ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्।

 १० वर्षदेखि दुबईमा कार्यरत  उनी  शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको छ। 

आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ। यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म ११ जना पुगेको छ। तीमध्येदुई जनालाई निको भइसकेको छ।

यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-04-06 22:38:59

प्रतिकृया दिनुहोस्