गोरखाको सिरानचोक गाउँपालिका– ७ ले कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन गाउँमा आएका पाहुनालाईसमेत ससम्मान आफ्नै घर फर्काउन थालेको छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउन थालेको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए।
समितिले सोमबार बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको बताउदैं वडाध्यक्ष ढकालले भने, 'कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४सै घण्टा सजग अवस्थामा रहन्छ। गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निणर्य गर्छ।'
समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालको भनाइ छ।
गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको छ।
'प्रतिकार्य समितिले गाउँभित्रका लागि अत्यावश्यकबाहेक गाउँ बाहिर पनि जान दिँदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैँन', उनले भने, 'साथै प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको छ।' गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहलेसमेत राख्ने गरेको उनको भनाइ छ।
त्यस्तै पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए। 'विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ', अध्यक्ष गुरुङ भन्छन्, 'क्वारेन्टाइनमा बसेकाले नियम पालना गरे नगरेकोसमेत दिनहुँ अनुगमन हुन्छ।'