मन्त्रिपरिषद बैठक आज बस्दै, जारी लकडाउन एक साता अझै लम्ब्याउने तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ।

यसका लागि  साेमबार दिउँसाे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो। त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गते १२ बजेसम्म रहनेछ।

गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको बताइएको छ।

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधीसम्म लकडाउन कायम राख्ने सरकारले तयारी गरेको हो। 

प्रकाशित मिति: : 2020-04-06 11:03:13

प्रतिकृया दिनुहोस्