अमेरिकामा कोरोनाबाट चार नेपालीको मृत्यु, स्तव्ध छ मिनी नेपाल

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकाको नेपाली डायस्पोराका लागि पछिल्लो ४८ घण्टा अत्यन्तै पीडादायी रह्यो। अमेरिकाको मिनी नेपाल भनिने न्युयोर्कको कुइन्समा शु्क्रबार र शनिबार गरी चारजना  नेपालीको दु:खद निधन भएपछि यो पीडाको अनुभूति भएको हो।

शुक्रबार मुस्ताङका थोक्मे बिष्ट र सोनाम लामा गुरुङको निधन भएको अपुष्ट समाचार आएको थियो। त्यसको पुष्टी हुन नपाउँदै शनिबार दिउँसो सोलुखुम्बुका ङिमा तेम्बा शेर्पा र काठमाडौंका अजयमान छोंचूको निधन भएको खबर बाहिरियो। आइतबार विहान मात्र चारैजनाको कोरोनाबाट निधन भएको औपचारिक रूपमा पुष्टी भएको छ। 

मृतकमध्ये मुस्ताङका सोनाम लामा गुरुङ कुइन्सको जमैकामा एक्लै बस्दै आएको बताइएको छ। करिव ४० वर्षीय उनको अपार्टमेन्टमै मृत्यु भएको हो। यसरैगरी मनाङका ५४ वर्षीय विष्ट कुइन्सको सन्नीसाइडकै अपार्टमेन्टमा मृत्यु भएको बताइएको छ। २० वर्षदेखि एक्लै अमेरिकामा रहेका विष्ट कागजपत्रविहीन थिए र उनी केही समयपछि नै सधैंका लागि नेपाल फर्कने तयारी गरिरहेको उनका एक जिल्लाबासीले बीएल नेपालीलाई बताए। तर, उनको त्यो सपना अब कहिलै विपना नहुने भएको छ। 

अमेरिकाको कोरोना इपिसेन्टर मानिएको न्युयोर्कमा पछिल्लो ४८ घण्टामा चारजना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मनाङका थोक्मे बिष्ट र सोनाम लामा , काठमाडौैंका अजय छोचु र सोलुखुम्बुका ङिमा तेम्बा शेर्पा रहेका छन्। अमेरिकाको मिनी नेपाल भनिने न्युयोर्कमै केही दिन अघि अर्का एक नेपाली पाँचथरका अनिल लिम्बूको निधन भएको थियो ।

उनीहरू दुबैको अपार्टमेन्टमै मृत्यु भएपछि स्थानीय प्रहरी आएर उनीहरूको शव लिएर गएको बताइएको छ। 

यसैगरी शनिबार मृत्यु भएका काठमाडौंका छोचु नेवा नख न्युयोर्कका सल्लाहकार हुन्। उनी कुइन्सको ग्रयाण्ड एभिन्युमा श्रीमतीसँगै बस्दै आएका थिए। उनको  एल्महर्स्टअस्पतालमा मृत्यु भएको हो। शनिबार नै मृत्यु भएका सोलुखुम्बुका ४० वर्षीय शेर्पा उबर चालक हुन्। 

यसरी एकैदिन चारजनाको मृत्यु भएपछि यतिबेला अमेरिकाको मिनी नेपाल भनिने न्युयोर्क स्तव्ध छ। कोरोनाको इपिसेन्टरमै मिनी नेपा पनि रहेकाले यहाँका केही सय संख्यामा नेपाली कोरोनासँग जीवन मरणको लडाईं लडिरहेको अनुमान गरिएको छ। तर, धेरै नेपालीले अझै पनि यो रोगलाई लुकाइरहेकाले उनीहरूको समयमै उपचार गर्न समस्या भैरहेको स्थानीय नेपाली अगुवा बताउँछन्। 

यसअघि न्युयोर्कमै कोरोनाबाट पाँचथर रानी थातथलो भएका अनिल लिम्बूको मृत्यु भएको थियो। यो समाचारले स्तव्ध बनेको न्युयोर्कको नेपाली डायस्पोरा त्यसपछि चार नेपाली र एक नेपाली परिवारले कोरोनामाथि विजय प्राप्त गरेको खबरले राहत महसुस गरिरहेको थियो। तर, यो पछिल्लो ४८ घण्टामा चारजना नेपालीको मृत्यु भएको खबरले भने स्तव्ध बनेको छ। 

तर, यतिबेला न्युयोर्क कोरोना चक्रव्यूह भएको छ। यही भित्र बसेका मानिस आफैंले मातेर यो फोड्न सक्छन् । बाँकिले त शोकलाई शक्तिमा बदल्न कामना गर्ने मात्र हो।

प्रकाशित मिति: : 2020-04-05 22:53:46

प्रतिकृया दिनुहोस्