सरसफाईकर्मीलाई सुरक्षा सामग्री हस्तान्तरण

ललितपुर महानगरपालिकाले सरसफाईकर्मीहरुलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। वाटर एड नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको आर्थिक सहयोगमा महानगरपालिकामा कार्यरत सरसफाई मजदुरहरुको सामग्री हस्तान्तरण गरिएको हो। 

मेयर चिरी बाबु महर्जनले यस कार्यले सरसफाईकर्मीहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गुर्नुका साथै सरसफाईकर्मीहरुमा सुरक्षा सामग्री प्रयोग गर्नु पर्ने सचेतना जागाउने, उनीहरुको पेसागत बानी व्यहोरामा परिवर्तन आउने र यस संवेदनसील कार्य प्रति नगरपालिकाको पनि ध्यानाकर्षण हुने अपेक्षा गरिएको बताए।

उनले भने,‘महामारीको समयमा सरसफाईलाई विशेष ध्यान दिनुपर्ने हुनाले महानगरपालिकाले यस विषयलाई प्राथमिक्ता दिएको छ। लकडाउनका कारण सामग्री अभाव भएको अवस्थामा यस्तो सहयोग पाउनाले नगरपालिकालाई ठुलो राहत पुगेको छ। यी सामग्री अस्पताल लगायत संक्रमित फोहोर व्यवस्थापन गर्न सरसफाई मजदुरद्वारा प्राथमिकताका साथ प्रयोग हुनेछ।’ प्राप्त सामग्रीको सही सदुपयोग र आवश्यक व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले लिने कुरामा उनले जोड दिए।

वाटर ऐड नेपालका राष्ट्रिय प्रतिनिधि तृप्ति राईले अहिलेको अवस्थामा महामारीको नियन्त्रण गर्न हात धुने र सामाजिक दुरी कायम गर्नु पर्ने कुरामा ध्यान पु¥याउनु पर्ने र यसलाई हरेकले पालना गर्नु पर्ने बताए। उनले यसका निम्ति ठाउँ ठाउँमा हात धुने स्टेसन राख्नु पर्ने बताउँदै त्यसका लागि चाहिने सहयोग दिन वाटर एड नेपाल प्रतिवद्ध रहेको पनि बताए। 

‘सरसफाई एक आधारभुत सेवा हो जुन लकडाउन भए पनि नभए पनि जारी रहन्छ। सरसफाईकर्मीहरु संक्रमणको जोखिममा छन्। सरकारले सरसफाईकर्मीहरुले प्रदान गर्ने अत्यावश्यक सेवालाई ध्यानमा राख्दै उनीहरुलाई चाहिने सुरक्षा सामग्रीको व्यवस्था गर्नु जरुरी छ। खास गरी कोभिड–१९ जस्तो आपतकालिन समयमा यो झनै महत्वपुर्ण छ। ’ तृप्ति राईले भने।

जनस्वाथ्यका लागि सरसफाई अपरिहार्य भएकाले सरसफाईकर्मीको स्वास्थ्य र सुरक्षामा ध्यान दिनु अति आवश्यक भएको कुरा फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले बताए। ‘भोलि सडकमा फोहोर थुप्रिएको खण्डमा यसले थप महामारी निम्त्याउँनेछ’ उनले भने।

हाल कोभिड–१९ महामारीको समयमा कार्यरत सरसफाईकर्मीको सुरक्षाका लागि जम्मा ५०० थान सुरक्षा सामग्री काठमाडौं, कीर्तिपुर र ललितपुर महानगरपालिकामा वितरण गरियो जस मध्य ललितपुर महानगरपालिकाको आन्तरिक प्रयोजनका लागी ५० थान, काठमाडौं महानगरपालिकाको आन्तरिक प्रयोजनका लागी ५० थान, कीर्तिपुर नगरपालिकाको आन्तरिक प्रयोजनका लागी १० थान, र बाँकी ३९० थान सुरक्षा सामग्री फोहोरमैला व्यवस्थापन संघ नेपालको मार्पmत उपत्यका भित्र  अनौपचारिक क्षेत्रमा सरसफाईको काम गने मजदुरहरुलाई वितरण गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-05 20:20:52

प्रतिकृया दिनुहोस्