अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मृतकको संख्या एक लाख पुग्दा नै रोक्न सक्दा त्यो आफूहरुको सफलता हुने बताएका छन्।
राष्ट्रपति ट्रम्पको यो पछिल्लो घोषणा हो । उनी ह्वाइट हाउसबाटै खुलेआम रूपमा यसो भनिरहेका छन्। उनको यो भनाइ कति जिम्मेवार हो?, यसमाथि वहस सुरू भएको छ।
त्यसो भए के त ? ट्रम्प प्रशासनको अहिलेको प्रयास एक लाखभन्दा बढी मृतकको संख्या बढ्न नदिनमा मात्र केन्द्रित छ? युनिभर्सिटी अफ मिजौरीका एक प्राध्यापक डा. मार्टी कोनेल भन्छिन्, ' यो एक गैरजिम्मेवार भनाइ हो। उनको प्रशासन त्यस्तो प्रयासमा लागेकै हो भने पनि सार्वजनिक रूपमा देशको राष्ट्रपतिले यस्तो भन्नु हुदैन।' मनोविज्ञानकी प्राध्यापक डा. कोनेल अगाडि भन्छिन्,' यसले एक किसिमको डरको मनोविज्ञान सिर्जना गर्छ। कोरोनाबाट बच्न सकिएला तर यो डरको मनोविज्ञानबाट जोगिन गाह्रो हुन्छ।'
मध्यपश्चिम अमेरिकाको कान्सास सिटीबाट प्रकाशित दैनिक कान्सास स्टारका राजनीतिक विश्लेषक ह्यारिस डेसन भन्छन्, 'हाम्रा राष्ट्रपतिलाई कुन बेला के बोल्ने ?, अझ के बोल्न हुने के बोल्न नहुने भन्ने हेक्का नै छैन। मेरो विचारमा उनले यो भन्न नहुने कुरा थियो। उनी अन्टसन्ट बोलिरहन्छन्। यो त्यही क्रमको यो एक खराब अभिव्यक्ति हो।'
हुन त कोरोना संक्रमण सुरू भययता राष्ट्रपति ट्रम्पले दिएको यो पहिलो डरलाग्दो अभिव्यक्ति हैन। यस्तैखाले अभिव्यक्ति उनी हरेक दिन दिइरहेकै हुन्छन्। कहिले चाइना भाइरस भन्छन्, कहिले डेमोक्रेटहरू पनि अमेरिकाका लागि भाइरस नै हुन् भन्छन्, कहिले म मास्क किन लगाउने ?।यो सीडीसीको गाइडलाइन मलाई हैन, अरूलाई नै हो भन्छन्, कहिले मास्क हैन, सल लगाउनु भन्छन् । उनका यस्ता विवादास्पद भनाइले अमेरिकामा भन्दा पनि विश्वमा एक गैरजिम्मेवार अमेरिकी राष्ट्रपतिका रूपमा उनको छवि बनेको छ।
तर, स्वच्छन्द स्वभावका राष्ट्रपति ट्रम्प कतै रोकिनेवाला छैनन्। उनी यस्तै अन्टसन्ट बोलेर मिडियालाई खुराक दिइरहेकै हुन्छन्।
हाम्रा राष्ट्रपतिलाई कुन बेला के बोल्ने ?, अझ के बोल्न हुने के बोल्न नहुने भन्ने हेक्का नै छैन। मेरो विचारमा उनले यो भन्न नहुने कुरा थियो। उनी अन्टसन्ट बोलिरहन्छन्। यो त्यही क्रमको यो एक खराब अभिव्यक्ति हो।
पछिल्लो एक सातामा अमेरिका कोरोना संक्रमणको विश्व इपिसेन्टर बन्यो। तीन लाखभन्दा बढी मानिस संक्रिमत भैसके, मर्नेको संख्या ८ हजार उकालो लागिसक्यो । तैपनि उनी लकडाउन गर्ने कुरा सुन्न पनि चाहदैनन् । उनी भन्छन्, अमेरिका कहिलै लकडाउन हुदैन। यो त्यसका लागि बनेको देश नै हैन।' तर, अहिलेसम्म राज्यले लगाएका होम स्टे अर्डर, पजलगायतका उपाय निस्प्रभावी हुदै आएका छन्। र, लकडाउन नै अमेरिकामा कोरोना भाइरस संक्रमणबाट बच्ने एक मात्र उपाय हुने सम्भावना बढ्दो छ।
अमेरिकी जनता पनि आहत भएर लकडाउनको पक्षमा उभिन थालेका छन्। उनीहरूलाई लागेको छ, अहिले सोसल डिस्टान्सिङ, आंशिक होम स्टे र पजका नाममा जे भैरहेको छ, त्यसले काम गरेको छैन बरू उल्टै अमेरिकी जनजीवन र अर्थतन्त्रलाई घाइते बनाउने काम मात्र भएको छ।'
मिजौरी स्कुल अफ जर्नालिज्मका प्राध्यापक एडमण्ड केनेडी भन्छन्,'अमेरिकालाई यो महामारीबाट बचाउने भनेको लकडाउन नै हो। यो अप्रिय छ तर यसको विकल्प पनि अब हामीसँग छैन। जति हामी यो कदम चाल्न ढिलो गर्छौं, त्यति नै हामीले भारी नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।' उनले अमेरिकामा लगाइएको राष्ट्रिय संकटकाल कोरोनाका नाममा देशको कानुनी प्रावधानलाई सस्पेन्डमा राखेर जे पनि गर्न पाइने लाइसेन्सजस्तो मात्र भएको छ।