कथा
पुजनीय हजुर’बा!
बैकुण्ठलोक।
सर्वप्रथम त स्वर्गीय हजुरबाको पाउमा म नातिको तर्फबाट शाष्टाङ्ग ढोग डण्डवत प्राणाम!
म यहाँ आजको दिनसम्म एक्लो बन्द कोठामा सन्चो आरामै छु। साथै हजुरबालाई पनि त्यहाँ आरामै होस् भनी भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु।
हजुरबासँग भौतिक रूपमा छुट्टिएको लामो समयको अन्तरालपछि अमेरिकी कवि रे योङ बार ले आफ्नो हजुरआमा देखेँ जस्तै आज मैले खुल्ला आँखा दिवा स्वप्नमा तपाईँलाई देखेँ।
सेतो पटुकाले बेरिएको सुकुटे शरीर, सेताम्य फुलेको कपाल, नाकको टुपोले थामेको ढ्याके चस्मा, तपाईँको कोप्रीएको आकृति अगेनाको छेवैमा थियो। अगाडि चरेसको थाली, छेवैमा तामाको लोटा, केही थान कचौराहरु अनि अगेनाको दायाँ पट्टि भित्ते दराजमा राखिएको तामाको थालीमाथि सानो ढुन्ङ्गे झ्यालबाट छिरेको हावाको मन्द प्रवाह सँगै धिरमिराइरहेको दिपको उज्यालोमा तामाको मन्दिर आकारको भाडोमा राखिएका गोलाकार ढुङ्गे आकृतिहरू टिलिक्क टल्किरहेको देखेँ।
अगेनाको देब्रे पट्टि घरको मुल काठे बिम टाउकोमा थामेर भित्तासँगै ठडिएको मोटो खामोमा बेरिएको डोरी र मोदानी, छेवैमा काठको पाथे ठेकी र यता तामाको गाग्री अनि अगेनाको तीन खुट्टे ओदानमाथि उम्लिदै गरेको कालो दालबाट उडेको बाफ धिपधिपे बत्तिको उज्यालोमा आकाश तिर दौडिरहेको पनि देखेँ।
ओदानमुनि तातेको रातो कोइला माथी गाइको घिउ तताउन राखिएको फलामे डाडुमा मसला राख्ने पुरानो काठको भाडो बेछौटोबाट निकालेको जिम्बुको धुलो डाडुमा राखेर अगेना माथिको फलामे कडाइमा तपाईले डुबाएर सगै निस्किएको मिठो बास्ना र फुरेको आवाज सगै झस्किएर बिउझिएँ ।
होशमा आएपछि दायाँबायाँ हेरेँ। नयाँ बानेश्वरस्थित हप्ता दिन पहिलेदेखि बन्द फ्ल्याटको अघिल्तिरको अफिस कोठामा सानो घुम्ने कुर्सीमा कम्प्युटर टेबल माथि देब्रे कुहिनोले टेकेर हातले आफ्नो टाउको थामेर दिउँसै सपना देखिरहेको आफूलाई भेटाएँ।
दिवा स्वप्नमा डुब्नु अगाडि कम्प्युटर बन्द गर्न भुलेकाले स्क्रिनमा माइक्रोसफ्टको लोगो तल माथि हाल्लिरहेको थियो। दाहिने हातले बिस्तारै अगाडिको माउस समाएर ‘मानव जीवन र प्रकृति बिचको अन्तर सम्बन्ध’ विषयमा लेखिएका पुस्तकहरू र विगत झन्डै चार महिनादेखि महामारीको रूपमा विश्वभर फैलिरहेको ‘कोरोना भाइरस Covid-19’ को उपचारको लागि हुँदै गरेका नवीनतम वैज्ञानिक खोजहरू सम्बन्धमा गुगलमा खोजिएका स्लाइटहरु हटाएर माउसको संकेत चिन्न छेवैको ‘सटडाउनमा’ लगेर थिचेँ। अनि टेबुलको घर्राबाट कापी र कलम निकालेर यहाँको वास्तविकता तपाईलाई अवगत गराउदै यो क्षमायाचना पत्र लेख्ने प्रयास गरेको छु।
आज नवौं दिन हो सरकारी लकडाउनको। विश्वभर तुफानी रफ्तारमा फैलिएको संक्रमणबाट मानव जगत आक्रान्त बनेको छ। एउटा बटन दवाएर संसार ध्वस्त गर्नसक्ने आणविक हतियार कोतमा थन्क्याएका शक्तिशाली मुलुकदेखि, ढुकुटीमा खर्बौ रकम जम्मा गरेर आफूलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको दाबी गर्ने मुलुकहरू जाबो ‘चार सय माइक्रोन’ आकारको एउटा विषाणुदेखि भएभित छन् आज।
कुनै भरपर्दो विकल्प र औषधोपचार तयार हुन सकिरहेको छैन। मानिस नभए संसार नै चल्दैन भन्ने भ्रम र अहमता पालेको मानव भने जङ्गलमा फैलिएको भयानक आगलागीबाट बच्न साँघुरो दुलो भित्र निसासिएको मुसो झै घर भित्रै लुकेको छ। तै पनि संसार उसको लागि रोकिएको छैन। आफ्नै गतिमा चलेकै छ। अझै राम्रो गतिमा।
केही राम्रा काम पनि भएका छन्। पृथ्वीमा पदूषण कम भएको छ। हावा र पानी शुद्ध भएको छ। सभ्य र सम्पन्न परिवारको टेबलमा मर मसलासँगै टुक्रिएर र तैरिएर पुग्ने करोडौं जीव जनावरको केही दिन आयु लम्बिएको छ।
आफूले आफैलाई संसारकै सर्वोत्तम प्राणीको उपमा दिएको मानिसदेखि डराएर प्रकृतिको जल, जमिन र जङ्गल भित्र लुकेर बसेका जीव जनावरहरु बाहिर निस्किएर आफ्नो प्रकृति प्रदत्त स्वतन्त्रता उपभोग गरिराखेका छन्।
प्रकृतिमा फुलेका कोमल फूलहरुले यो र त्यो नाउँमा पट्किने बारूदको गन्ध सुँघ्नु परिरहेको छैन केही दिनदेखि। आँखा बन्द गरेर हेर्दा लाग्छ मान्छेबाहेक सबै जीव जनावरहरू केही दिनदेखि खुसी छन् यहाँ। मान्छे भने आफ्नै हातमा यमराजको आसन देखिराखेको छ।
मिठो आहारा खोज्ने मुखदेखि बास्नादार सुगन्ध खोज्ने नाकहरू छोपिएका छन् उसका केही दिनदेखि। मान्छेलाई अदृश्य भयले तर्साइरहेको छ। आज मान्छे आफ्नै शरीरका अंगदेखि मात्रै होइन, पहिरिने बस्र र सुत्ने बिस्तारासँग समेत तर्सिरहेको छ।
आफ्नै भान्साका वर्तनदेखि ढोकाका छेस्किनहरु र बत्तिका बटनदेखि तर्सिरहेको छ आज मान्छे। आफ्नै खल्तीका कागजी नोटदेखि हातका मोबाइलसँग डराइरहेको छ ऊ, साच्चै मान्छे भयभित छ।
आफ्नै आफन्त यमराजको दूत बनेर आउनसक्ने सम्भावना देखेर गेटमा भोटे ताल्चा लगाएको मात्रै छैन आफैं अरुको यमराज बन्न सक्ने आसङ्काले समाज, आफन्त र आफ्नै परिवारका सदस्यदेखि एक्लिएर, अलगिएर बसिरहेको छ मान्छे।
यति हुँदा पनि मान्छे आफ्नो आँखा बन्दगरि महामारी र विपत्तिको कारण खोजिरहेको छैन बरू यस संकटको घडीबाट मुक्त हुन उपाए र अश्र खोजिरहेको छ। फेरि एकपटक विपत्तिमाथि विजयी बनेको स्वाङ पिट्न अथक प्रयास गरिराखेको छ मान्छे।
अधिकांश बिपत्तिको कारण प्रकृति र प्राणी बिचको अन्तरसम्बन्धमा देखिएको बेमेल नै हो भन्ने कुरा बुझेर पनि आधुनिकताको नाउँमा प्राकृत जीवनशैली र जीवन पद्धतिलाई किनारामा धकेलिरहेका छौं आज हामी।
हामीले विकासको नाउँमा प्रकृतिलाई विकृत बनाएका छौं। यसको सुन्दरता खोसेका छौं । धर्तीलाई दुर्गन्धित र विषाक्त तुल्ल्याएका छौं। यसलाई भुत्ल्याएका छौं, प्वाल पारेका छौं। यसको आकृति र प्रकृति बदल्ने चेस्टा गरिरहेका छौं।
आज आधुनिकताको नाउँमा आफैंलाई प्रकृतिदेखि अलग्याइरहेका छौं। यसको स्पर्शदेखि भागिरहेका छौं।
आफ्नो जीवनशैली र जीवन पद्धतिलाई अप्राकृत बनाएका छौं। जीवन र प्रकृतिलाई एक आपसमा जोड्ने मान्यताहरुको डोरी जबर्जस्त चुडालेका छौं। प्रकृतिसँग मित्रताको साइनो गाँसेर सुरू गरिएका आफ्ना पूर्वजका मूल्य, मान्यता र जीवनशैलीमा अज्ञानता र अन्धविश्वास देखेर लत्याउँदाको फलस्वरूप आज मुसलधारे बर्षात र कालो आकाशको गडगडाहटसँगै छेवैमा खसेको चट्याङले तर्सिएको जनावझै प्रकृतिदेखि तर्सिएका छौं। डरले कापिरहेका छौं ।
पुजनीय हजुरबा! आजभन्दा सत्रवर्ष पहिले स्वर्गीय हुनुभएका तपाईँको आडम्बर तोड्न तपाईँले अरुलाई छिर्न र छुन नदिएको भान्साको चुलोबाट भातको भाँडो घिसारेर जुत्ता र जिन्स पाइटसँगै भोजन गर्दै तपाईँको निरंकुशताको अन्त्य गरेको तेईस वर्षपछि पहिलोपटक आज आत्मालोचना गर्दै पुरानो नागरिकतामा टासिँएको तपाईँको ‘ब्याक एण्ड ह्वाइट’ तस्बिरसँग माफी माग्दैछु।
भियतनामी भिक्षुणी मास्टर चाङ हाइले आफ्नो पुस्तक
‘कि अफ इमिडिएट इन्लाइटमेन्ट’ मा आसुरी शक्तिको बयान गरेझैं सायद मेरो शरीरमा आसुरी शक्तिको प्रवेश भएको थियो होला तेतिबेला, जतिबेला क्रान्तिकारिताको नाउँमा तपाईँको सात्विक जीवन पद्धतिसँग जोडिएका हरेक मान्यताहरू माथि प्वालै-प्वाल पार्नुमा आफूलाई आधुनिक, सभ्य र शिक्षित व्यक्ति भएको अनुभूत गरेँ।
तपाईलाई तपाईँको साँघुरो र कठोर संसारबाट फराकिलो, स्वतन्त्र र सहज मेरो संसारमा ल्याउने हजारौं असफल प्रयासहरु गरेँ। तपाईँले मान्नुभएन। न त भान्सामा त्यो सेतो पटुकाले तपाईँको नाङ्गो सुकुटे शरीर बेर्न छोड्यो न त आगनमा तुलसीको झारले पुजिन नै। जीवनको अन्तिम स्वास लिने बेलासम्म पनि तपाईँले आफ्नो मान्यता छोड्नु भएन, न त यो बिरोधिलाई आशिर्वाद दिन नै।
आज सत्र वर्षपछि तपाईँले बाँचुन्जेल दात नभएको थोते मुखले मुस्कुराउँदै गालामा म्वाई खाएर चिउडो समाएर दिन नसकेको ज्ञान कोरोना नामको एउटा सानो विषाणुले एक्लो कोठाभित्र जबर्जस्त थुनेर दिदै छ मलाई।
उतिबेला तपाईँले ‘लातको भुतले बातले मान्दैन’ भनेको यही होला सायद। आज बल्ल बुझ्दै छु। आज बल्ल बुझ्दैछु, तपाईँले पुसे हिउँको कठ्याङ्ग्रीने जाडोमा पनि चिसो पानीले नित्य स्नान गरेको, दिनभर लगाएको लुगा फुकालेर भान्सा छिर्दा सेतो शुद्ध पटुकामा बेरिएको, सौच गर्दा खरानी माटोले एघारपल्ट हात गोडा मिचेको, तामाको गाग्रीको पानी र फलामे कराइको दाल खाने गरेको।
आफूले खाने थाल भाडा अरूको भन्दा अलग्गै, बेग्लै बनाएको, मासु खानेलाई भान्सा छिर्न नदिएको, आगनको छेउमा तुलसी र इनारको छेउमा पिपल पुजेको, सबैको पछाडि वैज्ञानिकता र व्यवहारिकता रहेछ हजुरबा!
तर आज धेरै ढिलो भैसकेको छ हजुरबा! आज तपाईँको पालाको आफन्त भेट्दा आफ्ना दुई हात जोडेर शाष्टाङ्ग डण्डवत गर्ने प्रचलनदेखि, भेट्ने बित्तिकै अंगालो हालेर एक-अर्का बिच मुख जोड्ने आधुनिक संस्कारमा म आइपुगेको छु।
आफैं भित्र भएको बिना पत्तो नपाएर अर्को कुनै अमुख बास्नादार बस्तुको खोजीमा जङ्गल चहार्दै गर्दा ब्वासोको बथानमा घेरिन पुगेको कस्तुरी मृगले घेराबाट फुत्किने प्रयास गरेझैं फेरि आज पहेँलो पितामरको कपडा भित्र पोको पारेर किनारामा मिल्क्याइएका तपाईँका मान्यताहरुको पुरानो पोको फुकाल्ने प्रयास गर्दैछुम।
तपाईँको रुढीबादसँग बिद्रोह गरेर मैले विश्वास गरेको विज्ञानले नै आज चौध दिन ‘क्वारेन्टाइन’ बस् भनेपछि बल्ल तपाईँको ‘तेह्र दिने मृत्यु संस्कार’ को अर्थ बुझ्दैछु।
आफ्नो जीवनको प्रवाह नगरेर मृत्युको मुखबाट विश्वभरका लाखौं बिरामीको जीवन बचाउन अनवरत लागिरहेका भगवान स्वरुपी डाक्टर र स्वास्थकर्मीले ‘आइसोलेसन’ मा बस् भनेपछि बल्ल तपाईँको जुठो-सुत्केरो र छुवाछूतको मान्यताको सही अर्थ बुझ्दैछु म। मलामीबाट फर्किँदा नुहाउने होस्, आगो पानी छोएर घर छिर्ने होस्, गाईको गोबरले पोत्ने र गहुँतले सुद्धिने होस्, सूर्यदेखि सर्पसम्म पूज्ने संस्कार र शुभ कर्ममा गाइने ‘श्वस्तिवाचन’ को पछाडि विज्ञान र कारण रहेको तथ्य आज बल्ल बुझ्दैछु म।
अनि सिमित व्यक्ति र वर्गको स्वार्थ पूर्ति, भुल र आज्ञानता बस बास्तविकतासँग सम्बन्ध बिच्छेद गराइएर विकृत बनाइएका सिमित मान्यताबाहेक तपाईँले अवलम्बन गरेका हर संस्कार र मान्यताहरुको पछाडि बिज्ञान भेट्दैछु, कारण भेट्दैछु र व्यावहारिकता, मानवता भेट्दैछु आज।
त्यसैले ढिलै भए पनि, जमिनमुनि स्थायी रूपमा गाढिएका तपाईँका संस्कार र मान्यतारूपि जरा पछ्याउन आधुनिकताको टुप्पोबाट पछाडि फर्केर आफ्नो फेद पहिल्याने यात्रा सुरु गर्दैछु हजुरबा!
जे होस ढिलै भए पनि तपाईँको रूढीबाद र मेरो आधुनिकता बिच रहेका विवादका सिमारेखाहरू मेटिएका छन्। तपाईँका मान्यता र तपाईँले अनुशरण गरेको संस्कार अकारण थिए भन्ने भ्रमबाट आज म मुक्त भएको छु। त्यसैले फेरि एकपल्ट प्रकृति र मानव जीवन बिचको अन्तर सम्बन्ध र प्रकृतिसँग मितेरी गाँसेर स्थापित गरिएका तपाईँका मान्यताहरू अवलम्बन र अनुशरण गर्ने अठोट गरेको छु।
अमेरिकी साहसिक यात्री एन्टिन पार्करले उनको "हिमालयन अडेसी" मा कान्जिरोवाको काखमा ठडिएका भिमकाय चट्टानहरु माझ निरीह बन्दै आँखा रसाएर "प्रकृति सँगै जिउन सकिन्छ तर प्रकृतिमाथि बिजय प्राप्त गर्न सकिदैन’ भन्ने "मन्त्र" भेटाएझै जीवन र जगतलाई एक अलग दृष्टिकोणबाट हेर्ने र बुझ्ने प्रयत्नको सुरुवात गरेको छु हजुरबा!
अन्त्यमा, तपाईँको पवित्र भावना र नित्यकर्ममाथि अज्ञानता बस ठेस पुर्याएकोमा तपाईंको भौतिक शरीरसँग माफी माग्ने अवसर त गुमाइसकेको छु। तथापि तपाईं यताकतै भावनामा जिवित हुनुहुन्छ भने मेरो मस्तिष्कमा कोरिएको सेतो पटुकाले बेरिएको, सेताम्य फुलेको र नाकको टुपोले ढ्याके चस्मा थामेको तपाईँको बिम्बसँग नतमस्तक हुँदै माफी मागेको छु।
मलाई तपाईंको "हजुरबा पथ" मा हिँड्न बाध्य पार्ने कोरोनाको क्रोधमा जल्नबाट छिट्टै उन्मुक्तिका लागि तपाईँको आशिर्वाद मिलोस् भन्ने कामनाको साथै मेरा क्षमायाचनाका शब्दहरु यही अन्त्य गर्दछु।
उहीँ तपाईँको आज्ञानी नाति,
नेपाल मण्डल, मर्त्यलोक।